
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपाली नागरिकहरूले विदेश भ्रमणका लागि ७३ अर्ब रुपैयाँ खर्च गरेका छन्। विदेशी पर्यटनमा बढ्दो आकर्षणसँगै मुलुकबाट ठूलो मात्रामा विदेशी मुद्राको बाहिरिने क्रम जारी छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालले सेवा व्यापारमा ८६ अर्ब ५३ करोड रुपैयाँ घाटा बेहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा ५० अर्ब ३१ करोड थियो। सेवा खाताअन्तर्गत, भ्रमणसम्बन्धी व्यय १७.९ प्रतिशतले वृद्धि भई १८५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
यसमा विशेषगरी विदेशी शिक्षा खर्च अत्यधिक रहेको छ, जसको कुल व्यय ११२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो व्यय १०४ अर्ब २५ करोड रुपैयाँ थियो। विदेशी पर्यटकहरूको आगमनसँगै भ्रमण आयमा भने सुधार देखिएको छ। समीक्षा अवधिमा पर्यटनबाट आम्दानी ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो आम्दानी ६९ अर्ब ७३ करोड रुपैयाँ थियो।


