Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको मागमा सुधार

२०८२ असार ६ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको जेठ महिनासँगै कर्जा विस्तारमा सुधार देखिएको छ। पछिल्ला केही महिनामा कर्जा विस्तारमा मन्दी देखिए पनि जेठमा भने वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार यो वृद्धिलाई कर्जाको पुनरुत्थानको संकेतका रूपमा लिइएको छ।

वैशाख महिनामा कर्जा विस्तार ४ अर्बले घटेर ४९ खर्ब ११ अर्बमा झरेको थियो। तर, जेठको अन्त्यसम्ममा यो ४९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। जेठ महिनामात्रै ३६ अर्ब कर्जा प्रवाह भएको हो, जुन पछिल्लो केही महिनामा घट्दो क्रममा रहेको कर्जामा सुधार भएको स्पष्ट संकेत हो।

बैंकिङ इतिहास हेर्दा, चालु आर्थिक वर्षमा पुस महिनामा सबैभन्दा धेरै  ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। तर त्यसयता भने कर्जाको माग र लगानीमा घटबढ आएको देखिन्छ। चैतमा यो ६५ अर्बमा झरेको थियो भने वैशाखमा झनै खुम्चिएर ४ अर्बले घटेको थियो। जेठको वृद्धिले बैंकिङ प्रणालीमा सुधारको संकेत दिएको हो।

निर्माण क्षेत्रमा उल्लेख्य वृद्धि

राष्ट्र बैंकको तथ्यांकअनुसार निजी क्षेत्रमा गरिएको कर्जा प्रवाह चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७.३ प्रतिशतले बढेको छ। त्यसमध्ये निर्माण क्षेत्रको योगदान सबैभन्दा उच्च रहेको छ। यो क्षेत्रमा मात्र १२.३ प्रतिशतको कर्जा विस्तार भएको देखिन्छ, जसअनुसार वैशाख मसान्तसम्म निर्माण क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ३३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

२०७८/७९ को तुलनामा २०८१ असारदेखि २०८२ जेठसम्ममा वाणिज्य बैंकहरूले कुल ३ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यद्यपि यो वृद्धिलाई बैंकहरू अपेक्षित गति भने मानेका छैनन्। उनीहरूको भनाइमा हालको वृद्धिदर सुस्त भए पनि सकारात्मक संकेतका रूपमा लिन सकिन्छ।