Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पेवेल र सजिलो पेद्वारा हुन्डी र तस्करी कारोबारमा सहजीकरण, लाइसेन्स खारेज

२०८२ असार ५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले दुई पेमेन्ट सेवा प्रदायक कम्पनीहरूको अनुमति खारेज गरेको छ । भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गर्दै पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई दिइएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको जनाएको हो।

पेवेल नेपालले २०७७ सालको असोज ११ गते अनुमतिपत्र प्राप्त गरेको थियो भने सजिलो पे पेमेन्ट सर्भिसेजले २०७७ सालको फागुन १९ गते उक्त अनुमति लिएको थियो । तर दुवै कम्पनीले भुक्तानी तथा फर्स्याट ऐन २०७५, भुक्तानी तथा फर्स्याट विनियमावली २०७७, र भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ को पूर्ण पालना नगरेको पाइएपछि राष्ट्र बैंकले उक्त सेवा अनुमति खारेज गरेको हो ।

राष्ट्र बैंकले मनी लन्डरिङ निवारण ऐन, २०६४ तथा अन्य प्रावधानहरूको समेत उल्लंघन गरेको ठहर गर्दै २०८२ साल असार ४ गतेको सञ्चालक समितिको निर्णयअनुसार अनुमतिपत्र खारेज गरिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सबै सरोकारवालालाई यसबारे जानकारी गराएको छ र उक्त कम्पनीहरूसँग कारोवार गर्दा सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

यसअघि हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का गरेको थियो।