Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिजिटल बैंकिङमा पहुँच बढेसँगै शाखा कटौतीतर्फ बैंकहरू

२०८२ असार ५ गते

बैंकिङ खबर/ केही वर्षअघिसम्म शाखा विस्तारलाई प्रतिष्ठाका रूपमा लिने वाणिज्य बैंकहरू अहिले शाखा कटौती गर्नेसम्मको तयारीमा पुगेका छन्। डिजिटल बैंकिङको द्रुत विकास र ग्राहकहरूको प्रवृत्तिमा आएको परिवर्तनका कारण शाखाको आवश्यकता घट्दै गएको बैंकहरू बताउँछन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल देशभर ५,०५६ वटा शाखाहरू सञ्चालनमा छन्। तर, अब वाणिज्य बैंकहरू त्यस संख्यालाई क्रमशः घटाउने योजनामा छन्। बैंकहरूले अनुमान गरेका छन् कि करिब ४ सय शाखा कटौती गरे वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको खर्च जोगिनेछ।

 सन्तुलित संकुचनतर्फ

एक समय यस्तो थियो, जब बैंकहरू नयाँ शाखा खोल्न एकअर्कासँग प्रतिस्पर्धा गर्थे। उच्च ब्याजदरको बेलामा निक्षेप संकलन बढाउन शाखा विस्तार उपयोगी सावित भएको थियो। तर अहिले कर्जा प्रवाहमा सुस्तता आएको र निक्षेप धेरै भइसकेको अवस्थामा खर्च घटाउन बैंकहरू शाखा कटौतीतर्फ उन्मुख भएका छन्।

डिजिटल बैंकिङको विस्तार मुख्य कारण

छिल्लो समय नेपालमा डिजिटल वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाखसम्म) डिजिटल माध्यमबाट गरिएका कारोबार संख्यात्मक र मौद्रिक दुवै हिसाबले उल्लेख्य वृद्धि भएका छन्।

सबैभन्दा धेरै प्रयोगमा आएको डिजिटल माध्यम मोबाइल बैंकिङ रहेको छ। सो अवधिमा मोबाइल बैंकिङमार्फत ५ करोड ७३ लाख ७१ हजार २१५ पटक कारोबार भई ४५ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ६ लाख २९ हजार २२१ पटकमा ३२ अर्ब १ करोड ९० लाख रुपैयाँ कारोबार भएको थियो। यसले १ करोड ६७ लाखभन्दा बढी कारोबार वृद्धि हुनुका साथै १३ अर्ब ६७ करोड रुपैयाँले कारोबार रकम बढेको देखाएको छ।

जानकारहरूका अनुसार मोबाइल बैंकिङ छिटो, सजिलो र भरपर्दो भएकाले यसको प्रयोग उच्च दरमा बढेको हो। अर्को लोकप्रिय डिजिटल साधन वालेट (जस्तै: eSewa, Khalti आदि) मार्फत ३ करोड ७६ लाख ६४ हजार ४२६ पटक कारोबार भई ४ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो कारोबार २ अर्ब ८४ करोड रुपैयाँ मात्र थियो।

त्यस्तै डेबिट र क्रेडिट कार्ड प्रयोगमार्फत १ करोड २५ लाख ६० हजार ३६२ पटक कारोबार भई १० अर्ब ३४ करोड रुपैयाँ सरहको कारोबार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ करोड रुपैयाँले बढी हो।

कनेक्ट आइपिएस प्रणालीमार्फत २५ लाख भन्दा बढी कारोबार हुँदा २४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ। अघिल्लो वर्षको तुलनामा यो ६२ करोड रुपैयाँले वृद्धि हो।

इन्टरनेट बैंकिङ पनि क्रमशः लोकप्रिय बन्दै गएको देखिन्छ। चालु आवको १० महिनामा ४ लाख ५६ हजार कारोबारबाट २ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्षभन्दा कारोबार संख्या १ लाख ७७ हजारले बढेको र रकममा ७८ करोडको वृद्धि भएको देखिन्छ।

कुन बैंकको कति शाखा?

कुन बैंकको कति शाखा?

बैंकको नाम शाखा संख्या
एनआइसी एशिया ४७९
ग्लोबल आइएमई ४२४
प्रभु बैंक ३७७
राष्ट्रिय वाणिज्य बैंक ३५४
कुमारी बैंक ३५३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३३८
नेपाल बैंक २९०
नबिल बैंक २८८
कृषि विकास बैंक २८७
लक्ष्मी सनराइज २८४
एनएमबी बैंक २१२
सिटिजन्स बैंक २००
हिमालयन बैंक १९७
सिद्धार्थ बैंक १९७
प्राइम कमर्सियल १९४
माछापुच्छ्रे बैंक १७८
सानिमा बैंक १३३
एभरेष्ट बैंक १३३
नेपाल एसबीआई १२३
स्ट्यान्डर्ड चार्टर्ड १५

राष्ट्र बैंकको अनुसार एउटा शाखा सञ्चालन गर्न वार्षिक औसत ५० लाख रुपैयाँ खर्च हुन्छ। त्यसैले शाखा कटौती गरेर खर्च घटाउने र दक्षता बढाउने रणनीति बैंकहरूमा देखिएको छ।

आगामी मौद्रिक नीतिबाट आशा

वाणिज्य बैंकहरूले राष्ट्र बैंकसँग आगामी मौद्रिक नीतिमा शाखा कटौती गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेका छन्। ७५३ वटै स्थानीय तहमा कम्तीमा एक शाखा पुगेपछि, अब गुणस्तर र पहुँच सन्तुलन गर्ने नयाँ चरणमा बैंकहरू प्रवेश गर्न लागेका छन्।