Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधान गर्न राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव

२०८२ असार ४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकद्वरा गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ले बैंकिङ क्षेत्रमा देखिएका समस्याहरूको समाधान र बृहत् सुधारका लागि सरोकारवालाहरूबाट सुझाव आह्वान गरेको छ । बुधबार कार्यदलले इच्छुक संस्था, विज्ञ तथा सर्वसाधारणबाट सुझाव मागेको हो ।

नेपाललाई अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको निगरानी सूची (ग्रे–लिष्ट) बाट हटाउन खेल्नुपर्ने भूमिकादेखि बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति (मर्जर र एक्विजिसन) पछिका समस्या समाधानसम्मका विषयमा कार्यदलले सुझाव संकलन गर्नेछ ।

यसअघि राष्ट्र बैंकले पूर्व बैंकर भुवन दाहाल, रेवतबहादुर कार्की र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसहितको कार्यदल बनाएको थियो ।

कार्यदलले तोकेका ६ वटा मुख्य विषयमा केन्द्रित रहेर आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव दिन आग्रह गरेको छ। इच्छुक व्यक्तिले २०८२ असार ११ गते सुझाव पठाउनपर्ने उल्लेख गरिएको छ ।

यी हुन् सुझाव मागिएका विषय

बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील बनाउँदै जोखिममा आधारित र ग्राहकमैत्री बैंकिङ सेवाको विकास गर्ने सम्बन्धमा ।

आर्थिक गतिविधिलाई पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिकाका सम्बन्धमा ।

ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्तिपछिका समस्याहरूको पहिचान तथा समाधानका सम्बन्धमा ।

नेपाललाई ग्रे–लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।

पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमा ।