Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा प्रवाह लक्ष्यभन्दा कमी

२०८२ असार ४ गते


बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) बैंक तथा वित्तीय संस्थाहरूबाट ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशतले बढी हो भने गत असारको तुलनामा ७.३ प्रतिशतले बढी हो । तर यो वृद्धिदर राष्ट्र बैंकले चालु वर्षका लागि तोकेको साढे १२ प्रतिशतको लक्ष्यभन्दा निकै कम रहेको छ ।

राष्ट्र बैंकले तोकेको साढे १२ प्रतिशतको लक्ष्यअनुसार चालु आवमा कूल ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्नेमा वैशाख मसान्तसम्म ३ खर्ब १४ अर्ब रुपैयाँ कम मात्र कर्जा प्रवाह भएको छ । बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य पूँजी प्रशस्त भए पनि लगानी वातावरणमा सुधार नआउनु, बजारमा माग सुस्त हुनु र उद्योगहरू पूर्ण क्षमतामा नचलेका कारण कर्जाको मागमा अपेक्षित वृद्धि हुन सकेको छैन।

बैंकिङ प्रणालीमा हाल औसतमा ५ खर्बभन्दा बढी रकम थुप्रिएको देखिन्छ भने ब्याजदर विगत ४७ महिनामै न्यून विन्दुमा छ। यद्यपि, बैंकहरूले अझै अपेक्षित दरमा कर्जा विस्तार गर्न सकेका छैनन्।

चालु आवका लागि राष्ट्र बैंकले राखेको साढे १२ प्रतिशतको लक्ष्य अलि बढी महत्त्वाकांक्षी रहेको र सम्भवतः चालु वर्षको अन्त्यसम्म कुल कर्जा प्रवाह ९ प्रतिशत हाराहारीमा सीमित हुने अनुमान गरिएको छ।

वैशाख मसान्तसम्म गैरवित्तीय संस्थागत क्षेत्रमा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३६.९ प्रतिशत कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशत, विकास बैंकहरूको ४.१ प्रतिशत र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ।

कर्जाको सुरक्षण आधारतर्फ हेर्दा कृषि तथा वस्तु सुरक्षण कर्जाको हिस्सा १४.६ प्रतिशत छ भने घरजग्गा धितो कर्जाको हिस्सा ६५.१ प्रतिशत रहेको छ। औद्योगिक उत्पादन क्षेत्रमा कर्जा ९ प्रतिशतले, निर्माण क्षेत्रमा १२.३ प्रतिशतले, सेवा क्षेत्रमा ७.९ प्रतिशतले वृद्धि भएको छ। तर अधिविकर्ष कर्जा १२.९ प्रतिशतले घटेको छ, जसले बैंकहरू जोखिम व्यवस्थापनमा सचेत हुँदै गएको देखाउँछ।

निक्षेप संकलन पनि लक्ष्यभन्दा सुस्त

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले मात्र वृद्धि भएको हो, जुन गत वर्षको ७.८ प्रतिशत वृद्धिदरभन्दा कम हो। अहिले वार्षिक विन्दुगत आधारमा ११.४ प्रतिशतको निक्षेप वृद्धि देखिएको छ।