
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् ।
काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा पूर्वगभर्नर नेपालले जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको बताए ।
सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।
उनले भने, ‘हामीले विकास देशभित्र गर्नसक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरु आफैं फर्किन्छन् । यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन । आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो । देशमा यस्तो वातावरण बनाउनुप¥यो कि उनीहरु फर्केर आओस् । भारतमा राजीव गान्धी प्रधानमन्त्री हुँदाखेरी जतिबेला त्यहाँको आर्मीले कू गर्यो । पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भएपनि तपाईंहरुको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो । पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरुले भारततिर हेर्न थाले । यसको मतलव देशले आहन पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरुलाई राष्ट्रप्रतिको प्रेम अनुभव पनि हुने नीति अपनाउनुपर्छ ।’
उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताए । मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ ।
उनले भने, ‘हामीले युवाहरुलाई देशभित्रै रोक्नुपर्दैन । विकास गर्यो भने उनीहरु आफै आउँछन् ।’ रोजगारी सिर्जन गर्ने, निजी क्षेत्रलाई सक्दो सहयोग गर्ने, अर्थतन्त्र उकास्ने खालको बजेट आएको उनले बताए ।
कतार जुन मुलुकमा बालुवा नै बालुवा छ त्यो मुलुकले सम्भावना देखाएको उनले बताए छ । हाम्रो मुलुक जुन ठाउँमा जस्तो ठाउँमा पनि उत्पादन हुने र काम गर्न अत्यन्त सहज रहेको उनको भनाइ छ । उनले भने,‘नेपाल अवसर नै अवसर रहेको देश हो । उत्पादन हुने देशमा हामी पछाडि परेका छौं ।’




