बैंकिङ खबर/ मौद्रिक नीति भन्नाले मुलुकको समष्टिगत आर्थिक उद्देश्यहरू प्राप्त गर्नका लागि मुद्रा, ब्याजदर र कर्जाको आपूर्ति तथा मागको सन्तुलन कायम गर्ने हेतुले केन्द्रीय बैंक (नेपालमा नेपाल राष्ट्र बैंक) ले अपनाउने रणनीतिक नीतिलाई बुझिन्छ। यो नीति मुद्रास्फीति नियन्त्रण, विनिमय दरको स्थिरता, वित्तीय प्रणालीको मजबुतीकरण, वित्तीय पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिलाई सन्तुलित रूपमा सञ्चालन गर्न सहयोगी बनिन्छ।
नेपालमा मौद्रिक नीति नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत हरेक आ.व. सरकारको बजेट प्रस्तुतिपछि सार्वजनिक गरिन्छ, जसले सरकारले लिएको बजेटीय उद्देश्यअनुसार अर्थतन्त्रलाई सन्तुलित दिशामा लैजान मार्गदर्शन गर्छ।
२. मौद्रिक नीतिका उद्देश्यहरू
मौद्रिक नीतिका उद्देश्यहरू देशको आर्थिक संरचना, विकासको अवस्था र बजारको गतिशीलतासँग प्रत्यक्ष सम्बन्धित हुन्छन्। नेपालजस्ता विकासोन्मुख मुलुकका लागि मौद्रिक नीतिका मुख्य उद्देश्यहरू :
(क) विनिमय दरमा स्थिरता (Exchange Rate Stability):
अन्तर्राष्ट्रिय व्यापार र भुक्तानी सन्तुलनलाई स्थिर राख्न विदेशी विनिमय दरलाई सन्तुलित बनाउने उद्देश्य मौद्रिक नीतिको मुख्य लक्ष्य हो।
(ख) मूल्य स्थिरता (Price Stability):
मुद्रास्फीति र मुद्रा सङ्कुचन दुवैलाई नियन्त्रण गर्दै मूल्यहरूको अस्थिरता हटाउनु यसको उद्देश्य हो, जसले आर्थिक गतिविधिलाई पूर्वानुमेय बनाउँछ।
(ग) मौद्रिक तटस्थता (Neutrality of Money):
अर्थतन्त्रमा न अधिक न अल्प मात्रामा मुद्रा आपूर्ति हुनु नपरोस् भन्ने सुनिश्चित गर्नु यस नीतिको अर्को महत्त्वपूर्ण पक्ष हो।
(घ) पूर्ण रोजगारी (Full Employment):
किन्सियन अवधारणाअनुसार उत्पादन, आम्दानी र रोजगारीमा वृद्धि गर्दै अधिकतम मानव संसाधन प्रयोग गर्नु मौद्रिक नीतिको लक्ष्य हो।
(ङ) आर्थिक विकास (Economic Development):
दीर्घकालीन आर्थिक विकास, पुँजी निर्माण, लगानी प्रवाह, वित्तीय पहुँच र जनताको जीवनस्तरमा सुधार ल्याउने दिशा तय गर्नु मौद्रिक नीतिको अन्तिम उद्देश्य हो।
३. मौद्रिक नीति, वित्तीय नीति र आर्थिक नीतिबीचको अन्तरसम्बन्ध
तीनवटा नीति—आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति—एकआपसमा अत्यन्त घनिष्ट रूपमा सम्बन्धित छन्। तिनबीचको सम्बन्ध यसप्रकार विश्लेषण गर्न सकिन्छ:
-
आर्थिक नीति एक बृहत् नीति हो जसले राष्ट्रको समग्र आर्थिक दिशा तय गर्छ। यस अन्तर्गत वित्तीय र मौद्रिक नीति आउँछन्।
-
वित्तीय नीति सरकारको राजस्व संकलन (कर, शुल्क) र सार्वजनिक खर्चको व्यवस्थापनसँग सम्बन्धित छ।
-
मौद्रिक नीति भनेको मुद्रा, ब्याजदर, ऋण र कर्जा प्रवाहको नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित हुन्छ, जुन नेपाल राष्ट्र बैंकद्वारा कार्यान्वयन हुन्छ।
यी नीतिहरू एक-अर्कामा निर्भर छन्। उदाहरणस्वरूप:
-
सरकारले वित्तीय नीतिबाट सार्वजनिक खर्च वृद्धि गरेमा बजारमा मुद्राको आपूर्ति (money supply) बढ्छ। यसले ब्याजदर घटाउँछ, कर्जा सस्तो हुन्छ, लगानी बढ्छ, रोजगारी सिर्जना हुन्छ र उत्पादन वृद्धि भई सरकारलाई राजस्व प्राप्त हुन्छ।
-
तर यदि मौद्रिक नीतिले मुद्रास्फीति नियन्त्रण गर्न सकेन भने बजारमा असन्तुलन आउँछ, जसले वित्तीय नीति प्रभावहीन हुन सक्छ।
यसरी, आर्थिक नीति मार्गदर्शक हो भने मौद्रिक र वित्तीय नीति कार्यान्वयनका साधन हुन्। एउटामा आएको परिवर्तनले अर्कोमा असर पार्छ। समष्टिगत आर्थिक स्थिरता, विकास र समृद्धिको लागि यी तीनवटा नीतिहरूबीच समन्वय अत्यन्त आवश्यक हुन्छ।
मौद्रिक नीति कुनै पनि राष्ट्रको आर्थिक प्रणालीको संवेदनशील र महत्वपूर्ण अङ्ग हो। यसको सशक्त कार्यान्वयनले वित्तीय सन्तुलन, मूल्य स्थिरता, विनिमय दर सुदृढीकरण, रोजगारी वृद्धि तथा दीर्घकालीन आर्थिक विकास सुनिश्चित गर्न सकिन्छ। तर यो नीति आफैंमा प्रयाप्त छैन; यसलाई वित्तीय नीति र समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्छ। यसै कारण, कुनै पनि मुलुकको समुन्नत आर्थिक लक्ष्य प्राप्तिका लागि यी तीनवटा नीतिहरूको प्रभावकारी समन्वय आवश्यक हुन्छ।
नेपालजस्ता विकासोन्मुख देशहरूका लागि सशक्त मौद्रिक नीति नीति निर्माण, कार्यान्वयन र अनुगमनको सन्तुलनका साथ अगाडि बढ्न सक्दा मात्रै आर्थिक समृद्धिको सपना साकार गर्न सकिन्छ।