
बैंकिङ खबर/ आज पुँजीबजार क्षेत्रमा विभिन्न गतिविधिहरु हुँदैछ । जसलाई हामीले तल प्रस्तुत गरेका छौं ।
पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति
पिपुल्स पावर लिमिटेडले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएकाले यस कम्पनीको १० कित्ता साधारण शेयर हुनेले ५ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले हालसम्म हकप्रद निष्कासनको मिति तय गरिसकेको छैन।
छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि
छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ संकलन गर्नेछ।
हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।
यसमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हाल यस कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चु्क्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रूपैयाँ पुग्नेछ।
क्रेस्ट माइक्रो लाइफको साधारणसभा आज
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आज सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुँदैछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेकोले जेठ ८ गतेसम्म कायम शेयरधनीहरू सभामा उपस्थित हुन सक्नेछन्।
प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आजदेखि
प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आजदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ।
यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।
कुल ४ करोड इकाईमध्ये ३०–३० लाख इकाई प्रभु बैंक र प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
स्किममा लगानी गर्न चाहनेहरूले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन दिने समय असार ६ गतेसम्म लम्बिने छ।
यस स्किमको निष्काशन तथा बिक्री प्रबन्धक स्वयं प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।
कोष प्रबर्धक प्रभु बैंकलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ र योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एएमसी क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ।



