२०८२ जेष्ठ २२ गते

नेप्सेलाई पुनर्संरचना प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डको निर्देशन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पुनर्संरचना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। बोर्डले नेप्सेलाई पत्र लेख्दै राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार सुझाव समितिको सुझाव कार्यान्वयन गर्न भनेको हो।

सिवाकोटीको नेतृत्वमा गठित समितिले नेप्सेको पुनर्संरचना गर्न सिफारिस गरेको थियो । सोहि अनुसार प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो। यससंगै अब लामो समयदेखि अड्किएको नेप्सेको पुनर्संरचना प्रक्रिया अगाडि बढ्ने विश्वास गरिएको छ।

नेप्सेको प्रस्तावमा नेप्सेको चुक्ता पुँजी ३ अर्ब पुर्याउने उल्लेख छ । त्यस्तै ३० प्रतिशत शेयर सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने र नेप्सेमा सर्वसाधारण नै सबैभन्दा ठूलो शेयरधनी हुने उल्लेख छ । नेप्सेको ३६ प्रतिशत शेयर वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंक, पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनी, तथा सरकारी स्वामित्वका संस्थानलाई दिन प्रस्ताव गरिएको छ ।