२०८२ जेष्ठ २० गते

बढ्न सकेन सेयर बजार, बैंकिङमा उच्च गिरावट

बैंकिङ खबर/ मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो ।

आज सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीं सेक्टर उच्च दरले बढेको थियो । राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो ।

त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशत घट्यो ।