Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बिमा कम्पनीको ४५.४३ प्रतिशत रकम वाणिज्य बैंकको निक्षेपमा

२०८२ जेष्ठ १२ गते

बैंकिङ खबर/ ३७ वटा बिमा कम्पनी र दुई पुनर्बिमा कम्पनीहरुले चैत मसान्तसम्म वाणिज्य बैंकको निक्षेपमा मात्रै ५ खर्ब ९३ अर्ब रुपैयाँ थुपारेका छन्। यो भनेको कुल कोषको ४५.४३ प्रतिशत रकम हो।

बिमा कम्पनीहरुको कुल बिमा कोष साढे आठ खर्बको छ। यी कम्पनीहरुले बिमा प्राधिकरणको निर्देशिकाविरुद्ध गएर निक्षेपमा मात्रै रकम थुपार्दै आएका हुन्। निर्देशिकाअनुसार लगानी गर्ने हो भने यस्ता कुल कोषको ३० प्रतिशत रकम मात्रै बिमा तथा पुनर्बिमा कम्पनीहरुले वाणिज्य बैंकहरुको निक्षेपमा राख्न पाउँछन्।

लगानीका पर्याप्त आधार नभएको बताउँदै बिमा र पुनर्बिमा कम्पनीहरुले लगानीको जोखिम मोल्न नचाहँदा प्रतिफलको माया मारेरै भए पनि निक्षेपमा मात्रै लगानी गर्दै आएका हुन्।

नेपाल बिमा प्राधिकरणका प्रवक्ता सुशीलदेव भट्ट शिथिल अर्थतन्त्रले लगानीप्रतिको विश्वसनीयता घटाउँदा बिमा कम्पनीहरु निक्षेपबाट अन्त सर्न नसकेको बताउँछन्।

लगानीको ठूलो हिस्सा बोकेको जीवन बिमा कम्पनीहरुको लगानीसम्बन्धी निर्देशिकाले विभिन्न १५ क्षेत्रमा सीमा तोकेरै अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ।

जसमा वाणिज्य बैंकहरुको निक्षेपमा यी कम्पनीहरुले कुल लगानीको धेरैमा ३० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ।

तर व्यवस्था मान्न न कम्पनीहरुले अग्रसरता देखाएका छन्, न त नियामक प्राधिरकणले नै कडाइ गरेको छ।

परम्परागत शैलीलाई चिर्दै व्यवस्थित लगानीमा बिमा कम्पनी अग्रसर नदेखिँदा प्रतिफलमा पनि निरन्तर खुम्चिँदै आएका छन्।

८ खर्ब ४७ अर्बको पुँजी कोषमध्ये जीवन बिमा कम्पनीहरुको मात्रै ७ खर्ब ३३ अर्ब रुपैयाँ छ। बाँकी रहेको १ खर्ब १४ अर्ब रुपैयाँ भने पुनर्बिमा, लघुबिमा र निर्जीवन बिमा कम्पनीहरुको हो।

कुल रकमको ८६ प्रतिशत रकम रहेको जीवन बिमा कम्पनीहरुले ८० प्रतिशतमाथिको रकम वाणिज्य बैंकको निक्षेपमा राखेका छन्। यी कम्पनीहरुले ५ अर्ब १४ करोड रुपैयाँबराबरको रकम वाणिज्य बैंकहरुमा औसतमा ४.९९ प्रतिशत ब्याजमा राखेका हुन्।

वाणिज्य बैंकहरुको संस्थागततर्फको निक्षेपको ब्याजदर अहिले औसतमा ४.३९ प्रतिशतमा छ। यो पछिल्लो एक दशककै कम ब्याज हो।