Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ, लगानी वातावरण थप सहज बन्दै: राष्ट्र बैंक

२०८२ जेष्ठ १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आन्तरिक अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको जनाएको छ । आफ्नो त्रैमासिक मौद्रिक समीक्षामा राष्ट्र बैंकले अघिल्लो आवभन्दा बढी आर्थिक वृद्धि हुने जनाएको छ । ‘आन्तरिक अर्थतन्त्र क्रमशः पुनरुत्थानतर्फ बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो’, राष्ट्र बैंकले भनेको छ।

अघिल्ला दुई आर्थिक वर्ष उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रको वृद्धि ऋणात्मक रहेकामा चालू आर्थिक वर्षमा उक्त उप–क्षेत्रहरुकोवृद्धि धनात्मक रहने तथ्यांक कार्यालयको अनुमान रहेको उल्लेख गर्दै बैंकले पर्यटक आगमनमा सुधार भएको, थोक तथा खुद्रा व्यापारमा विस्तार आएको र चालू आर्थिक वर्षको नौ महिनामा मध्यवर्ती उपभोगका सामानको आयात १७.८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशले घटेको थियो। यसबाट समेत आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार हुँदै गएको देखिन्छ ।’

नेपाल सरकारले लगानीसँग सम्बन्धित केही कानुनहरुमा सुधार गरेको, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुधारसम्बन्धी सुझावहरु कार्यान्वयनका लागि नेपाल सरकारले कार्यान्वयन कार्ययोजना बनाएको र नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी तीन वर्ष जलविद्युत उत्पादनको जडित क्षमता प्रत्येक वर्ष ९०० मेगावाटका दरले थपिने क्रममा रहेको, राष्ट्रिय पूर्वाधारका केही आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले आन्तरिक अर्थतन्त्रमा सुधार हुने राष्ट्र बैंकको अनुमान छ ।

वित्तीय क्षेत्रमा पनि तरलता यथेष्ट रहेको, कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको पृष्ठभूमिमा आगामी दिनमा लगानी वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुनुको साथै विद्यमान उत्पादन क्षमताको उपयोग पनि बढ्दै जाने देखिएको राष्ट्र बैंकले जनाएको छ ।