Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बढायो अनिवार्य नगद मौज्दात सीमा

२०८२ जेष्ठ ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न अनिवार्य नगद मौज्दातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले दैनिक अनिवार्य नगद मौज्दात बढाइ ९० प्रतिशत बनाएको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत दैनिक अनिवार्य तरलता बढाएको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई जटिल भएपछि ७० प्रतिशत रहेको दैनिक अनिवार्य नगद मौज्दात बढाइ ९० प्रतिशत पुर्‍याएको हो । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात बापत केन्द्रीय बैंकमा राख्नुपर्छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीका तरलता बिनाब्याज सहित केन्द्रीय बैंकमा होल्ड गर्नका लागि यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले स्थायी निक्षेप र निक्षेप संकलन उपकरण मार्फत अधिक तरलता व्यवस्थापन गर्दा खर्च बढेपछि दैनिक अनिवार्य नगद मौज्दात सीमा बढाएको हो ।

यो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ब्याज आम्दानी नहुने गरी नियामकीय प्रयोजनका लागि राख्ने रकम बढ्न जान्छ । त्यसले गर्दा केन्द्रीय बैंकलाई ब्याज खर्च गरेर प्रणालीबाट तान्नुपर्ने पैसामा कमी आउँछ । साथै, अधिक तरलतामा पनि कमी आउने भएकाले केन्द्रीय बैंकले यस्तो सीमा बढाएको हो ।