
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका १८ औं गभर्नर डा. विश्व पौडेलले आफ्नो पाँच वर्षे कार्यकालमा सबैले सम्झिने खालको काम गर्ने बताएका छन् ।
एक टेलिभिजन कार्यक्रमको अन्तरवार्तामा गभर्नर पौडेलले भने, ‘सबैले सम्झने खालको गभर्नर बन्न चाहन्छु । गभर्नरको महत्वपूर्ण भूमिका छ । हामीले खल्तीमा राखेको पैसाको भ्यालुदेखि सर्कुलेसन सबैमा महत्व छ । मान्छेहरुले सम्झिँदा असल गभर्नर हो भनेर सम्झिउन भन्न चाहन्छु । कुनै विवाद नभएको, दाग नभएको र कुनै बेइमानी काम नगरेको गभर्नरको रुपमा सम्झिउन ।’
उनले पाँच वर्षको आफ्नो कार्यकालमा देशको आर्थिक स्थिति राम्रो बनाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले भनेका छन्, ‘आर्थिक सिस्टम राम्रो होस् । कसैले पनि बैंकहरुको समस्याले गर्दा जनताले दुःख पाउने स्थिति नहोस् । त्यो भयो भने म सफल हुन्छु ।’
उनले पैसा बुझाएर गभर्नर भयो भन्ने मान्छेहरु देखेर आफूलाई दया लागेको पनि बताएका छन् । उनले भनेका छन्,‘मलाई यस्तो मान्छेहरु देखेर दया लाग्छ, शंकाको खेती गरेर, यिनीहरुले राजनीति गरेर एक दुई राउण्ड जित्लान्, तर यिनीहरुले देशलाई कहीँ लग्दैनन् । राम्रो काम गर्ने मान्छेलाई दुःख दिने, अनि यस्तै गँजेडी सँजेडीहरुलाई जिताइदिने, त्यो वातावरण सिर्जना गर्न खोजिरहेका छन् । यिनीहरु एनार्कीमा रमाउने मान्छे हुन् । यिनीहरु राजनीति गरेर खाने मान्छे होइनन् । यिनीहरु मौका पाएन भनेर एकातिर, अर्कोतिर दौडिने मान्छेहरुको हुल हो ।’



