
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका नवियुक्त गर्भनर प्रा.डा.विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् । गर्भनर पौडेलले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शुक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताए ।
उनले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए । ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उनले भने ।
यस्तै उनले सबैभन्दा पहिले राष्ट्र बैंकको सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्ने बताएका छन् । उनले भने, ‘नियम कम, सुपरिवेक्षण बढी हुनुपर्छ भन्ने मेरो मान्यता हो । नियम बढी गर्दा धेरै अन्योल पनि हुन्छ । बैंकहरूमा केही न केही समस्या देखिएका छन् । ती समस्या प्रभावकारी सुपरीवेक्षणमार्फत समाधान गर्न सकिन्छ । मेरो ध्यान यसमै रहन्छ ।’
राष्ट्र बैंकले जारी गरेका विद्यमान नीति–नियममा उद्योगी÷व्यवसायी मात्र नभएर समग्र निजी क्षेत्रका केही गुनासा छन् । यस सम्बन्धमा तथ्यपरक रूपमा संवाद, अध्ययन अनुसन्धानमार्फत समस्याको निकास खोज्ने प्रयास गर्ने उनले बताएका छन् । ‘म ‘हिप सुटर’ जस्तो आउँदाआउँदै गोली पड्काउने होइन । अर्थतन्त्र हो, सामान्य गल्ती गरेमा सबैले दुःख पाउँछन् । त्यो अवस्था आउन दिन्नँ’ उनले भने ।




