
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको ठ्याक्कै एक महिना पूरा भइसकेको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई गभर्नर नियुक्त गर्नका लागि दिएको डेडलाइन गत बिहीबार सकिएको छ । ओलीले बिहीबारसम्म राष्ट्र बैंकले नयाँ गभर्नर पाउने बचन देउवालाई दिएका थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ला कि भन्ने आँकलन गरिएको थियो । तर गभर्नर नियुक्त हुन नसकि नियुक्ति प्रक्रियाले अर्कै मोड लियो ।
कांग्रेस समर्थित डा. गुणाकर भट्टलाई गभर्नर बनाउन दुई दल सहमत भएको चर्चा भएपनि उनले कार्यकारी निर्देशकबाट बुझाएको राजीनामा स्वीकृत भएन । कामु गभर्नर रहेकी ढुङ्गानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ३ पटक प्रधानमन्त्रीलाई भेटेर राजीनामा स्वीकृत गराउन भनिसकेका छन् ।
प्रधानमन्त्री केपी ओलीले पनि अर्थमन्त्री विष्णु पौडेलमार्फत भट्टको राजीनामा स्वीकृत गराउन कामु गभर्नर ढुङ्गानालाई भनेका छन् । तर, ढुङ्गानाले मानेकी छैनन् ।
भट्टको राजीनामा स्वीकृत नभएपछि गभर्नरमा डा. विश्व पौडेललाई अगाडि सारेको छ । गभर्नर सिफारिस समितिका सदस्य समेत रहेका पौडेलले आइतबार सदस्यबाट राजीनामा बुझाइसकेका छन् ।
गभर्नर नियुक्तिमा हालसम्मका श्रृंखला
२७ फागुन : स्वार्थ समूहको चाहनाअनुसार गभर्नर नियुक्तिका लागि अर्थ मन्त्रालयमातहतका सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड संशोधन गरी ६५ वर्षे उमेरहदसम्बन्धी व्यवस्था हटाइयो
२९ चैत : उमेरहदसम्बन्धी मापदण्ड हटाइएकोविरुद्ध सर्वोच्चमा रिट
३ वैशाख : सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश
५ देखि १५ चैत : तत्कालीन गभर्नर महाप्रसाद अधिकारी अनिवार्य बिदामा
११ चैत : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा. विश्वनाथ पौडेल सदस्य रहने गरी गभर्नर सिफारिस समिति गठन
२२ चैत : गभर्नर महाप्रसाद अधिकारीको बिदाइ
२५ चैत : डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी
३ वैशाख : गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच सहमति भइसकेको र छिट्टै गभर्नर नियुक्ति हुने सार्वजनिक अभिव्यक्ति
५ वैशाख : कांग्रेसले गभर्नरका लागि अघि सारेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टद्वारा राजीनामा
९ वैशाख : सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईको राजीनामा
११ वैशाख : गभर्नर नियुक्तिबारे प्रधानमन्त्री ओली र देउवाबिच एक घण्टा छलफल
१७ वैशाख : रिक्त सिफारिस समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त
२८ वैशाख : निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट
२८ वैशाख : सिफारिस समिति सदस्य पदबाट डा. विश्वनाथ पौडेलको राजीनामा
पछिल्लो समय भने प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच शनिबार बालुवाटारमा लामो छलफलपछि अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउने समझदारी भएको छ । त्यसअनुसार नै आइतबार पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
राजीनामाको श्रृंखला
गभर्नर पद खाली हुने समयदेखि नै सम्भावित पात्रहरुले आफ्नो जिम्मेवारीबाट धमाधम राजीनामा दिन थालेका थिए । सुरुमा राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिए । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठले फागुन १८ गते नै राजीनामा दिएको भएपनि चैतको तेस्रो साता तिर मात्रै उनको राजीनामाबारे चर्चा भयो ।
त्यसपछि नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिए । चैत २४ गते गभर्नर पद रिक्त हुँदै थियो, ढुङ्गानाले चैत १० गतेदेखि नै लागू हुने गरी राजीनामा दिए ।
यसपछि पक्कापक्की भएका भनिएका डा. गुणाकर भट्टले बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा बुझाए । तर, कामु गभर्नर ढुङ्गानाले उनको राजीनामा स्वीकृत नगरी असजिलो बनाइदिइन् ।
लगत्तै, गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले बैठक नराखेको भन्दै बैशाख ९ गते राजीनामा दिएर हिडे । डा. भट्टको राजीनामा स्वीकृत नभएपछि रन्थनिएको नेपाली कांग्रेसले सिफारिस समितिका सदस्य डा. पौडेललाई नै गभर्नर बनाउनु भन्दै प्रधानमन्त्रीलाई नाम दियो । यसपछि सिफारिस समितिबाट पौडेलले बैशाख २८ गते राजीनामा दिएका छन् ।
अब सिफारिस समिति फेरि रिक्त भएको छ । अब पहिला सिफारिस समितिलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार छ । त्यसपछि बल्ल सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ ।