
बैंकिङ खबर/सेयर धितो कर्जा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा उल्लेख्य बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्मको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार, मार्जिन प्रकृतिको कर्जा भनेर चिनिने सेयर धितो कर्जा ३७.८ प्रतिशतले वृद्धि भएको छ। यस अबधिमा सेयर धितो कर्जा १ खर्ब २४ अर्ब रुपैया प्रबाह भएको छ। जुन गत वर्षको सोहि अबधिमा ९ अर्ब ८७ करोड रुपैया थियो ।
यही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जा ७.१ प्रतिशतले बढेर ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँले, अर्थात् ४.६ प्रतिशतले मात्र बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भएको देखिन्छ। यसमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३६.६ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४ प्रतिशत, विकास बैंकहरुको ४.६ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ।
कर्जाको सुरक्षण पक्ष हेर्दा, २०८१ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जामध्ये १४.६ प्रतिशत चालु सम्पत्तिमा (कृषि तथा गैर–कृषिजन्य वस्तु) र ६५.२ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ। अघिल्लो वर्षको तुलनामा चालु सम्पत्ति धितोमा आधारित कर्जा वृद्धि भएको देखिन्छ भने घरजग्गा धितोको हिस्सा केही घटेको छ।
औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशत, निर्माण क्षेत्रमा ११.४ प्रतिशत, व्यापार क्षेत्रमा ५.२ प्रतिशत, यातायात तथा संचार क्षेत्रमा १०.२ प्रतिशत, सेवा उद्योगमा ८.६ प्रतिशत र उपभोग्य क्षेत्रमा ८.३ प्रतिशतले वृद्धि भएको छ।
अन्य कर्जातर्फ ट्रष्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशत, नगद प्रवाह कर्जा ५.२ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत र रियल स्टेट कर्जा ४.९ प्रतिशतले बढेको छ। यस्तै, अधिविकर्ष कर्जा भने १२.१ प्रतिशतले घटेको छ।