बैंकिङ खबर/ लामो समयको अन्तराल पछि नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने करिब निश्चित भएको छ । सो का लागि नेपाली कांग्रेसले टुंगो लगाएपछि सिफारिस समितिबाट डा. विश्व पौडेल राजीनामा दिएका छन् । उनी यसअघि गभर्नर सिफारीस समितिमा सदस्य थिए । यस अघि कांग्रेसले सहमति गरेको नाम डा.गुणाकर भट्टको र्काकारी निर्देशक पदको राजीनामा स्वीकृति नभएपछि कांग्रेसले विकल्प खोज्न थालेको थियो ।
डा.पौडेलले आइतबार नै गभर्नर सिफारिस समितिका अध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबारको छलफलपछि डा. पौडेललाई कांग्रेसको सिफारिसमा गभर्नर बनाउने सहमति गरेका थिए ।
उनलाई चैत दोश्रो साता राष्ट्र बैंकको १८ औं गभर्नर सिफारिस समितिको सदस्य पदमा नियुक्त गरिएको थियो । तर, गभर्नर सिफारिस समितिको एउटा पनि बैठक नबसी उनी सदस्यबाट विदा भएका हुन् । यसअघि गभर्नर नियुक्तिका लागि कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा गरेका डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।
तर, भट्टको राजीनामा कामू गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि देउवा पछि हटेका थिए । समितिका अर्का सदस्य महाप्रसाद अधिकारीविरुद्ध पनि सर्वोच्चमा रिट दर्ता भएको छ । अब भने सरकारले नयाँ सिफारिस समिति गठन गर्नेछ ।




