२०८२ बैशाख २६ गते

गभर्नर नियुक्तिः भित्रभित्रै अल्झिएको कहानी, आर्जुले सार्दैछिन् ढुंगानालाई

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक नेतृत्वविहीन भएको एक महिना पूरा भइसकेको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई गभर्नर नियुक्त गर्नका लागि दिएको डेडलाइन बिहीबार सकिएको छ । ओलीले बिहीबारसम्म राष्ट्र बैंकले नयाँ गभर्नर पाउने बचन देउवालाई दिएका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ला कि भन्ने आंकलन गरिएको थियो । तर साँझसम्म पनि अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेल नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गर्न नसक्दा सो विषयमा मन्त्रिपरिषदमा एजेण्डा नै लगिएन ।

बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव नै नगए पनि ढिलो भइसक्यो यो विषय छिटो अगाडि बढ्दा राम्रो हुन्छ भन्ने धारणा केही मन्त्रीले अनौपचारिक रुपमा राखेका थिए ।

उनीहरुले गभर्नर नियुक्तिको ढिलाइले सरकार नै आलोचित बनिरहेको धारणा पनि बैठकमा राखेका थिए । मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्री ओलीले सभापति देउवालगायत शीर्ष नेताहरुबीच छलफल भएको थियो। समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको उक्त बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता सहभागी थिए ।

भित्रभित्रै अल्झिएको कहानी

गभर्नर नियुक्तिका सम्बन्धमा राजनीतिक सरगर्मी बढिरहेको र यही कारण सरकारकै भविष्यमाथि प्रश्न उठिरहेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति देउवाले भने एक सार्वजनिक कार्यक्रममा गभर्नर नियुक्तिको विषय ढिला हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नभएको भन्दै बचाउ गर्दै यो समस्या आउनुमा राष्ट्र बैंकभित्रको आन्तरिक भएको समेत बताए ।

राष्ट्र बैंकमा गभर्नरका लागि पछिल्ला दुई मुख्य दाबेदार हुन् कामु गभर्नर ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट । भट्टलाई कांग्रेसको समर्थन रहेको बताइन्छ भने ढुंगानालाई एमालेको समर्थन छ । देउवाले भट्टलाई गभर्नरका रुपमा अघि सार्दा ओलीले बहालवाला कार्यकारी निर्देशकलाई नियुक्ति गर्न कानुनी अड्चन देखाइरहेका छन् ।

युवराज खतिवडा कार्यकारी निर्देशक नियुक्त हुँदै गर्दा गभर्नरका लागि सिफारिसका लागि भएको विवादका क्रममा महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको थियो । त्यतिबेला कार्यकारी निर्देशकलाई सिफारिस गर्नु उपयुक्त नहुने राय दिइएको थियो । त्यही रायलाई देखाएर भट्टलाई नियुक्त गर्न ओलीले ढिलाइ गरिरहेका छन् ।

भट्टले गभर्नर बन्ने प्रयोजनकै लागि राजीनामा बुझाइसकेका छन् । राष्ट्र बैंकमा एक महिनाअघि नै जानकारी दिएर राजीनामा दिनुपर्ने व्यवस्था रहेकोमा उनले त्यसको सट्टा जसले एक महिनाको तलब नै बुझाएर वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, कामु गभर्नर ढुंगानाले स्वीकृत गरेकी छैनन् । उनले आफुले राजीनामा स्वीकृत नगर्ने बताउँदै आएकी छन् ।

भट्टको राजीनामा स्वीकृत गर्न गभर्नर सिफारिस समितिका संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले कामु गभर्नर ढुंगानालाई ‘निर्देशन’ दिइसकेका छन् तर, अहिलेसम्म उनले राजीनामा स्वीकृत गरेकी छैनन् ।

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली तथा एमालेनिकट व्यक्तिले दोहोरो भूमिका खेलिरहेको आरोप समेत लागेको छ ।
ओलीले गभर्नर बनाउन कांग्रेससँग सहमति गर्ने र यता आफ्नै सल्लाहमा राजीनामा स्वीकृति रोक्ने काम गरेको आरोप लगाइँदै आएको छ ।

तर, देउवालाई भने नीलमले राजीनामा स्वीकृत नगेकोले समस्या भएको भन्दै रोक्ने र अन्तिममा आफू निकटका व्यक्तिलाई नियुक्ति दिने प्रपञ्च भएको अर्को पक्षको आरोप छ ।

अर्को पक्ष भने कांग्रेसभित्रै पनि गभर्नरको उम्मेदवारको सम्बन्धमा एकमत नभएकोले समस्या भएको दाबी गर्छ । त्यो पक्षको दाबी अनुसार भट्टप्रति सभापति देउवा पूर्ण रुपमा सकारात्मक छन् । उनलाई गभर्नर बनाउन उनी आफैँ लागिपरेका छन् । तर, आरजु देउवा भने भट्टको पक्षमा छैनन् । आफूलाई बाइपास गरेर भट्टले सीधै देउवासँग कुरा गरेकोले आरजु भट्टलाई गभर्नर बनाउने पक्षमा छैनन् ।

त्यसैले उनले समेत गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्रै समस्या रहेको सभापति देउवालाई सुनाउँदै आएकी छिन् । खासगरी राणा नबिल बैंकबाट केही समयअघि मात्रै राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन चाहन्छिन् ।

वैकल्पिक व्यक्ति खोज्ने तयारी

गुणाकर भट्टलाई गभर्नर बनाउने नेपाली कांग्रेसको चाहाना पूरा नहुने भएपछि वैकल्पिक व्यक्तिको खोजी भएको छ । भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट ५ वैशाखमा दिएको राजीनामा स्वीकृत नभएपछि ’प्राविधिक समस्या’ आएका छ ।

राजीनामा कायममुकायम गभर्नर ढुंगानाले स्वीकृत नगरी रोकेकी छिन् । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा गभर्नर नियुक्ति बारेमा पनि घनिभूत छलफल भएको थियो ।

‘गभर्नर योग्य व्यक्तिलाई कांग्रेसले सिफारिस गर्ने भन्नेमा प्रधामन्त्री र सभापतिबीच सहमति भइसकेको विषय हो । जुन कुरा सभापतिज्यूले आजको बैठकमा पनि बताउनुभयो,’ प्रवक्ता प्रकाशशरण महतले भने ।

पदाधिकारी बैठकमा यदि भट्टको राजीनामा स्वीकृत नभएमा के गर्ने भन्ने विषयमा पनि छलफल भएको अर्का पदाधिकारीले बताए । ‘प्राविधिक समस्या आएर गभर्नर नियुक्तिमा समस्या आएमा उम्मेदवारको विकल्प खोज्ने विषयमा कांग्रेस जानुपर्छ भन्ने निर्णय भएको छ,’ ती पदाधिकारीले भने । व्यक्तिका बारेमा भने कुरा नभएको ती पदाधिकारीको भनाइ छ ।