Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ठाउँ ठाउँमा भारु नोटको किनबेच

२०७३ पुष ५ गते

सुनसरी इटहरी–४ की मीरा संग्रौला आफ्ना साथीहरुसहित तीर्थ यात्राका लागि भारत जाने तयारीमा थिइन् । त्यसैले उनी भारु सटहीका लागि विभिन्न बैंकमा पुगिन् । कुनै बैंकमा भारु नभएको जवाफ पाइन् भने कुनै बैंकले उनीहरुलाई चाहिएकोभन्दा निकै कम परिमाणमा भारु साटिदिने जनायो । पैसासम्बन्धी सबै औपचारिक कारोबार गर्ने बैंकसँगै भारु नभएपछि मीरासहित उनका साथीहरु निराश बने । ‘भारतमा नेपाली नोट चल्दैन, हामीलाई भारु चाहिएको थियो’, उनले भनिन् ‘तर बैंकमै पैसा नभएपछि मैले अरु विकल्प देखिरहेकी थिइँन ।’ पछि उनकी मैयाँ भन्ने साथीले जोगबनीमा भारु नोट केही बढी रकम तिरेपछि साट्न पाइने कुरा सुनाएपछि उनीहरुले त्यही गएर पैसा त साटे तर एकदमै महंगो मूल्यमा ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनियम दरअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ हो । तर मीरासहित उनका साथीहरुले १७२ रुपैयाँ तिरेर १५ हजार बराबरको १०० र ५० को भारु नोट किने । ‘बल्ल समय मिलेकाले तीर्थ जान लागेका छौँ’, मीराले भनिन्, ‘महंगै भएपनि भारु नसाटि हाम्रो यात्रा सम्भव थिएन ।’

खासगरी भारत सीमावर्ती क्षेत्रमा नेपाली मुद्राको अत्याधिक अवमूल्यन भईरहेको छ । गत नोभेम्वरमा भारतले त्यहाँको ५ सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि भारु १००, ५० लगायतका नोटको अभाव थप चुलिएको छ । ती नोट नेपालमा प्रतिबन्धित नभए पनि धेरै नेपाली सबै परिमाणका भारु नोटबाट हच्किएका छन् ।

यतिबेलाको अवस्थामा भारु नोटको सम्बन्धमा राष्ट्र बैंक आफैँ पनि समस्यामा छ । भारु नोटमा लगाइएको प्रतिबन्धपछि उसको ध्यान नेपालीहरुसँग भएका बैधानिक भारु सटही गर्नका लागि भारतलाई कसरी मनाउने भन्नेमै केन्द्रित देखिएको छ । त्यसैले पनि नेपालीलाई आवश्यक भारु नेपाल राष्ट्र बैंकले पनि उपलब्ध गराउन सकिरहेको छैन । भारतीय बैंकमा नेपाली मुद्रा चलनचल्तीमा छैन । भारतबाट नेपाल भित्रिने भारुमाथि पनि राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । दुई/चार हजार भारु बोक्नेहरूलाई समेत प्रहरीले पक्राउ गरिरहेको छ । एक हजार र पाँच सय दरका भारु त नेपालमा मात्र नभएर भारतमै पनि प्रतिबन्धि भईसकेका छन् । अति आवश्यक कामका लागि समेत भारु अभाव हुँदा सयकडा ८ प्रतिशत अवमूल्यन गरेर नेपाली मुद्रा विदेशिदा सर्वसाधारणलाई नोक्सानी त छँदैछ मुलुकलाई पनि ठूलो घाटा भइरहेको छ ।

समान किनमेलमा पनि नेपाली नोट अवमूल्यन
भारु नोट सटहीमा मात्र नभएर नेपाली उपभोक्ता समान खरिदमा समेत मारमा परिरहेका छन् । सीमावर्ती भारतीय क्षेत्रका व्यापारीहरूले एक सय रुपैयाँ भारु पर्ने सामानलाई १६० रुपैयाँ नेपाली लिनुपर्नेमा १६६ देखि १७० रुपैयाँसम्म असुल गरिरहेका छन् । भारतीय व्यापारीले सुरू गरेको मुद्रा अवमूल्यन प्रवित्ति अब नेपालमा पनि भित्रिसकेको छ । झापाको काँकडभिट्टा, मोरङको जोगबनी, वीरगंजलगायतका सीमा बजारका सटही काउन्टरहरूले अहिले पनि सयकडा ८ रुपैयाँसम्म बट्टा काटेर भारु दिने गरेका जनगुनासो छ । नेपालमा भएको भारु अभावबाट सीमावर्ती भारतीय व्यापारी, नेपालका सटही काउन्टर र भारतीय नोटका अवैध कारोबारीहरूलाई फाइदा पुगिरहेको छ ।