२०८२ बैशाख २४ गते

ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्ने समय दुई वर्ष थप गर्न माग

बैंकिङ खबर/स्टक ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्डसँग स्टक ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्ने समय दुई वर्ष थप गर्न माग गरेको छ । स्टक ब्रोकर एसोसिएसनले सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गर्दै यस्तो माग गरेको हो ।

एसोसिएसनले बोर्डसँग धितोपत्र बोर्डमा नीतिगत सुधारको पनि माग गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली, २०६४ को प्रस्तावित संशोधनका लागि प्रस्ताव पेस गरिएको बताए ।

उनले ब्रोकरको न्यूनतम चुक्तापूँजी राख्नुपर्ने भएपनि २०८४ असार मसान्तभित्र चुक्ता पूँजी पर्‍याउने समयसीमा थप गर्न आग्रह गरिएको बताए । उनले २०८२ असार भित्र पूँजी वृद्धि सम्भव नभएको बोर्डलाई जानकारी दिएको बताए । बोर्डले २०८२ असार भित्र स्टक ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्न समय दिएको थियो ।