Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक खाताको संख्या ५ करोड ८४ लाख

२०८२ बैशाख २४ गते


बैंकिङ खबर/ नेपालमा सबै स्थानीय तहमा बैंकका शाखा विस्तार भएसँगै खातामा पनि क्रमशः वृद्धि हुँदै गएको छ । पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजाार ३ सय ९ छ।

बैंकहरूको कुल निक्षेप रजिस्टर्ड खाता भने ५ करोड ८३ लाख ९९ हजार ७ सय ८४ हाराहारीमा पुगेको छ। यो वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाको मात्रै हो।

यसबाहेक लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरूमा भएको वित्तीय पहुँचलाई भने यसमा जोडिएको छैन। रजिस्टर्ड निक्षेप खाता संख्या ५ करोडमाथि भए पनि सबै नियमित सञ्चालनमा भने छैनन्।

बैंकमा एउटै व्यक्तिको ५–७ ओटा खाता खोल्ने प्रवृत्तिले जनसंख्याभन्दा धेरै देखिएको हो। तर राष्ट्र बैंकको गत असारसम्मको तथ्यांकअनुसार कुल खातामध्ये ३ करोड ५३ लाख ७९ हजार खाता सक्रिय रूपमा सञ्चालित छन्।
यसमध्ये, पुरुषको सक्रिय खाता संख्या १ करोड ९७ लाख १६ हजार र महिलाको सक्रिय खाता संख्या १ करोड ५६ लाख

६२ हजार रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले तीनपुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा औसतमा ६७ दशमलव ३४ प्रतिशत रहेको देखाएको थियो।

यस्तै चालु आर्थिक वर्षको ८ महिनासम्ममा वित्तीय संस्थामा कर्जा खाता संख्या १९ लाख ३७ हजार ४ सय ८० रहेको छ।
निक्षेप खाता संख्या ५ करोडमाथि भए पनि सबै नियमित सञ्चालनमा भने छैनन्।

यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको २ करोड ९९ लाख २८ हजार ४ सय ३६ निक्षेप खाता रहेका छन्। प्रतिवेदनअनुसार तीनपुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत रहेकोे छ।
यसअघि २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६० दशमलव ९ प्रतिशत रहेको थियो।

पछिल्लो समय वित्तीय पहुँच बढ्दै जानुको कारण वृद्धा, एकल भत्ताजस्ता सामाजिक सुरक्षाका लागि खाता खोल्नु पर्ने अनिवार्य व्यवस्थाले पनि बढेको हो।

यस्तै, सरकारले एक व्यक्ति एक खाता अभियान पनि सुरु गरेको थियो। साथै सेयरमा प्रवेश गर्नेहरूले पनि अनिवार्य रूपमा खाता खोल्नुपर्ने व्यवस्थालगायतले पनि समग्रमा खाता संख्या बढेको छ ।

बैंक खाता कसरी खोल्ने

खाता एक प्रकारको कारोबार बिवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा बित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ । ग्राहकले कारोवार गरेको विवरण बैंकले रेकर्ड राखिदिन्छ । खाता खोलेर निर्धारीत रकम जम्मा गरिसकेपछि बैंकले चेकबुक उपलव्ध गराउँदछ ।

आफूले जम्मा गरेको रकमबाट चेक खिचेर ग्राहकले आफूलाई आवश्यक परेजति रकम झिक्न सक्दछ । पछिल्लो समयमा चेकबुकका साथै एटीएम कार्डबाट पनि पैसा झिक्न सकिने प्रविधिको विकास भएको छ । खातावाला व्यक्ति वा संस्थाले जम्मा गरेको रकम, उक्त रकमको ब्याज, आफ्नो कारोवार, ब्याज र ब्याज आर्जन बापत तिरेको कर रकमका बारेमा जानकारी दिनेगरी बैंकहरुले कारोबार विवरण उपलव्ध गराउँदछन् जसलाई ‘स्टेटमेन्ट’ पनि भनिन्छ । जसमा कुन मितिमा कति रकमको कारोबार कोसँग भएको हो भन्ने कुरा उल्लेख हुने हुँदा खाता खोल्ने व्यक्ति वा संस्था ठगिन पाउँदैन ।

ग्राहक पहिचान नीति (KYC)

कुनै विजनेसमा आफ्नो ग्राहक तथा उपभोक्ता पहिचान गर्ने प्रक्रियालाई केवाईसी अर्थात नो योर क्लायन्ट्स भनिन्छ । आफ्नो कम्पनीसँग कुनै प्रकारले जोडिन आउने व्यक्ति कुनै पनि काण्डमा फसेको छ÷छैन वा उसको पहिलेका रेकर्डहरु कस्ता छन्, कुनै अपराधिक क्रियाकलापमा संलग्न पो छ कि ? लगायतका जानकारी लिने प्रक्रिया (केवाईसी) ग्राहक पहिचान हो ।

आफ्नो लगानी तथा कारोबारको सुरक्षाका लागि बैंक तथा वित्तीय संस्थाहरुले केवाईसीको प्रयोग गर्ने गरेका छन् । चोर, ठग, आतंककारी लगायतबाट आफ्नो संस्थालाई टाढा राख्नका लागि पूर्वसावधानीस्वरुप उक्त प्रणालीको प्रयोग गरिन्छ । (केवाईसी) ग्राहक पहिचान प्रकृयाले कुनै पनि संस्थालाई सम्भावित जोखिमबाट बचाउने काम गर्दछ । विशेषतः बैंक तथा वित्तीय संस्थाहरुले उपभोक्ता नीति, उपभोक्ता पहिचान विधि, कारोबारको व्यवस्थापन र जोखिम व्यवस्थापनमा आधारित रहेर आफ्नो (केवाईसी) ग्राहक पहिचान नीति तय गर्दछन् ।

खाता खोल्न के चाहिन्छ ?

बैंक खाता खोल्न सजिलो छ । यसका लागि धेरै रकमको आबश्यकता पर्दैन, कतिपय बैंकहरुले नि:शुल्क खाताको सुविधा पनि ल्याइसकेका छन् । सम्बन्धित निकायले जारी गरेका सामान्य आफ्नो परिचय खुल्ने कागजहरु र फोटो भएपछि बैंक खाता खोल्न सकिन्छ । पछिल्लो समय भने बैंकको खाता खोल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । 

बैंक खाताको लागि नागरिकताको प्रमाणपत्र, खाता खोल्ने व्यक्तिको फोटो, ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक ३ पुस्ते विवरण (बाबु बाजेको नाम उल्लेख भएको) सहित पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, तथा व्यक्तिको (हस्ताक्षर) दस्तखत नमूना भए पुग्छ । नानीबाबुको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो र आवेदन फाराममा हस्ताक्षर आवश्यक पर्दछ ।

बैंक खाताको बिवरण :

बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् ।

चल्ती खाता : आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतया ः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापार र कार्यालयहरुका लागि मात्रै यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता : बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एकैदिनमा धेरैपटक पैसा झिक्न सकिँदैन । यस किसिमको खातामा रकम झिक्दा एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । यस खाताबाट बैंकमा सुरक्षित तवरले रकम जम्मा हुनुका साथै ब्याज सहित आबश्यक परेको बेलामा निकाल्न सकिन्छ । विद्यार्थी, युवा, गृहस्थी, बृद्धबृद्धा सबैका लागि यो खाता उपयोगी र सरल हुन्छ ।

मुद्दती खाता : मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अबस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयूक्त हुन्छ ।

यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडिनै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ ।