
बैंकिङ खबर/ धितोपत्र बोर्डको कमिसनका विषयमा संसदमा छानविन गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको ऊर्जा उत्पादक संघ (इप्पान)कै पदाधिकारीले बताइरहेको उनले उल्लेख गरे ।

‘हिजो र आज धितोपत्र बोर्डमा कमिसनका कारण २२ महिनादेखि १००९.५ मेगावट क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ राकियो भन्ने समाचार आएको छ,’ सापकोटाले भने, ‘आजको केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ ग¥यो । यो निकै गम्भीर र दुःखदायी अवस्था हो ।’
उनले यो घटनाप्रति दलको तर्फबाट ध्यानाकर्षण गराउँदै यसको छानबिनका लागि सरकारका नाममा छानबिन गर्न समेत माग गरे । ‘यो घटनालाई एउटा भरपर्दो संयन्त्रका साथ छानबिन गर्नुप¥यो,’ सापकोटाले भने, ‘यो छानबिनका लागि म सभामुखमार्फत नेपाल सरकारलाई रुलिङका लागि माग गर्न चाहन्छु ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डले नै कमिसन मागेको जस्तो आरोप लागेपछि सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

कार्कीले नेपाल धितोपत्र बोर्डका प्रमुखले आईपिओ निष्कासनको लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको सुनिएको भन्दै कारबाहीको माग गरेकी छिन् ।
कार्कीले भनिन्, ‘आईपीओ निस्काशन गर्नका लागि धितोपत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा प्रशस्त बजारमा आइरहेको छ।’
साथै, कार्कीले थपिन् ‘धितोपत्र बोर्डका अध्यक्षले खुलमखुल्ला जसरी कमिसन मागेका छन्, मलाई त लाग्छ–प्रधानमन्त्रीज्यूको अध्यक्षमा बनेको सुशासन आयोगले एउटा राम्रो काम पाएको छ ।’
यता धितोपत्र बोर्डले भने जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा ७ प्रतिशतसम्म कमिसन मागेको बिषय बाहिरिएपछि नेपाल धितोपत्र बोर्डले त्यसलाई ’भ्रामक आरोप’ भनेको छ ।
बोर्डले एक विज्ञप्ति निकाल्दै समाचारहरुको खण्डन गरेको छ। विज्ञप्तिमा बजार सुधारको प्रयासबाट अत्तालिएकाहरुले भ्रामक आरोप लगाएको भनिएको छ । साथै कसैले बोर्ड अध्यक्षको नाममा कमिसन मागेको वा अन्य गैर कानुनी क्रियाकलाप गरेको सूचना पाएमा तत्थ्यसहित खबर गर्न पनि बोर्ड प्रवक्ताका निरञ्जय घिमिरेले अनुरोध गरेका छन् ।
