
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बिहीबारसम्म नियुक्त गर्ने तयारी गरिएको छ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो । सोहीअनुसार वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन्।
उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन्।
आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भएको थियो।
भेटमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे देउवाले चासो राखेका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिहीबार नियुक्त गर्ने समयसीमा दिएको बताइएको छ । ओलीको प्रतिबद्धता पाएपछि देउवा बूढानीलकण्ठस्थित आफ्नो निवास फर्किएका थिए।
अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्छ। तर, समितिको बैठक नै अहिलेसम्म बस्नसकेको छैन।
सोमबार समितिको बैठक बस्ने भनेपनि बस्न सकेन । ओलीलाई भेटेको भोलिपल्ट अर्थात् सोमबार देउवाले अर्थमन्त्री पौडेललाई आफ्नो निवास बोलाएका थिए। गभर्नरमा सिफारिस गर्ने नामहरूकै विषयमा अर्थमन्त्री पौडेल र देउवाबीच छलफल भएको बताइएको छ ।