
बैंकिङ खबर/ कोभिड महामारीपछि सुस्ताएको अर्थतन्त्र विस्तारै पुनः लयमा फर्किन थालेको छ । चालू आर्थिक वर्षमा नेपालको समग्र आर्थिक गतिविधिमा सुधार भएको राष्ट्रिय तथ्यांक कार्यालयको विश्लेषण छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा अर्थतन्त्रमा चालु आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्र ४.६१ प्रतिशतले बिस्तार हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र २.३७ प्रतिशत (उपभोक्ताको मूल्यमा) ले ऋणात्मक रहन पुगेको थियो । त्यसबाट उठ्ने प्रयासकाबीच आव २०७७/७८ मा ४.८४ र २०७८/७९ मा ५.६३ प्रतिशतले बिस्तार भयो । त्यसपछि मुलुक आर्थिक मन्दीको चक्रमा फस्न पुग्यो । जसले गर्दा कोभिड महामारीबाट पुनरुत्थान हुँदै अर्थतन्त्र बिस्तार गर्ने प्रयास सफल हुन सकेन ।
आव २०७९/८० मा अर्थतन्त्र १.९८ प्रतिशतले मात्र बिस्तार भएको थियो । त्यसपछिका दुई आवमा भने आर्थिक वृद्धि क्रमशः सुधारोन्मुख देखिएको तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८०/८१ मा ३.६७ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान छ । चालु आवमा भने ४.६१ प्रतिशतले अर्थतन्त्र बिस्तार हुने अनुमान गरिएको छ । आधारभूत मूल्यमा भने यस वर्ष ३.९९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर हुनेछ ।
कार्यालयका अनुसार पछिल्लो तीन वर्ष (आव २०८१/८२, आव २०८०/८१ र २०७९/८०)मा कृषि क्षेत्रको वृद्धिदर क्रमशः ३.२८, ३.३५ र ३.०२ प्रतिशत रहेको देखिन्छ । यी तीन आवमा गैरकृषि क्षेत्रको वृद्धिदर भने क्रमशः ४.२८, ३.३६ र १.९८ प्रतिशत रहेको देखिन्छ । जसले गर्दा समग्र अर्थतन्त्रको वृद्धिदरलाई गैरकृषि क्षेत्रको उतारचढावले असर पारेको देखिएको छ । औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्रका रूपमा हेर्दा प्राथमिक (कृषि तथा वन) तुलनात्मक रूपमा स्थिर देखिन्छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनका अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरिएको छ । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जिडिपी प्रयोग गरिएको छ ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा धान, तेलहन, दलहन र तरकारी बाली तथा पशुपन्छीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) हरुको उत्पादनमा वृद्धि हुने अनुमान रहेका कारण यस क्षेत्रको वृद्धि हुने अनुमान गरिएको छ । तर फलफूल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा नगण्य मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत कायम भएको छ । खानी तथा उत्खनन चालु आर्थिक वर्षमा यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ०.४६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा गत आर्थिक वर्षको तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ०.९१ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (– २.०२ प्रतिशत) रहने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्ष यस क्षेत्रको ऋणात्मक वृद्धि (–१.७० प्रतिशत) कायम भएको छ । यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ऋणात्मक वृद्धिदर देखिए तापनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ ।
खासगरी वनस्पति तेल, प्लाईउड, प्लाष्टिकको पाइप फिटिङ्ग, पेय पदार्थ, सिमेन्ट, साबुन, लगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइला लगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा विद्युत् तथा ग्याँस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.७३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
यस क्षेत्रमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १०.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार यस क्षेत्रको वृद्धिदर १९.७६ प्रतिशत कायम भएको छ ।
पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनः चालु आर्थिक वर्ष २०८१÷८२ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
सेवा माग र आपूर्तिमा भइरहेको क्रमिक वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धि पनि सामान्य रूपमा बढेको अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार यस क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत कायम भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको यस क्षेत्र चालु आर्थिक वर्षमा निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको उत्पादनमा भएको वृद्धिले सुधारोन्मुख भएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-२.२० प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-१.४८ प्रतिशत) कायम भएको छ ।
थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मतः चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.३० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा व्यापारजन्य वस्तुहरूको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-०.३६ प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-४.१० प्रतिशत) कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.२० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.४५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयात तथा पर्यटकको आवागमनमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १३.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत कायम भएको छ ।
आवास तथा भोजन सेवाः चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.४६ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर पाँच प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकहरूको आवागमनमा भएको वृद्धिले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २१.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ् तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस गत आर्थिक वर्ष क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । २०८०÷८१ मा यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.६५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.२९ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.९७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा पर्यटन आगमनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.०४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.०३ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
तीन वटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षा अन्तर्गत गरेको खर्चमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.४६ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.८७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा निजी शैक्षिक संस्थाका विद्यार्थी सङ्ख्यामा सामान्य कमी आएको भए तापनि सरकारी शैक्षिक संस्थाका विद्यार्थीको सङ्ख्यामा भएको बढोत्तरीसँगै यस क्षेत्रमा सरकारी खर्च बढेका कारण मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.७७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा लिनेहरूको सङ्ख्यामा भएको बढोत्तरीका कारणले यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ५.३१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.५७ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तीन वटै तहका सरकारले सामुदायिक तथा सामाजिक क्षेत्रमा गरेको खर्चमा भएको वृद्धि तथा निजी क्षेत्रबाट सञ्चालित मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.६४ प्रतिशत कायम भएको छ । यसरी कुनै समय निस्साशीएको अर्थतन्त्र लयमा फर्कंदै गर्द यसले आशा र अपेक्षा बढ्न थालेको देखिन्छ ।
प्रतिव्यक्ति आय १५१७ डलर, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब
यस वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने अनुमान कार्यालयले गरेको छ । गत वर्ष १ हजार ४६७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको संशोधित अनुमान छ । एक वर्षमा प्रतिव्यक्ति आय ५० डलरले बढ्ने अनुमान गरिएको छ ।
चालु आवसम्म नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यस वर्ष आधारभूत मूल्यको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड हुने अनुमान छ । यसमा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ३८ खर्ब ६६ अर्ब ९६ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी अर्थतन्त्रको गति सुधारोन्मुख रहेको तथ्यांक प्राप्त भएको उल्लेख गर्दै कोभिडपछिको मन्दीबाट बिस्तारै अर्थतन्त्र उठ्दै गएको तथ्यांकहरूमा देखिएको हुँदा सुधारतर्फको बाटो देखिएको बताउँछन् ।