२०८२ बैशाख १७ गते

गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त

बैंकिङ खबर/सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिलाई पूर्णता दिएको छ। विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।

गत चैत १६ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। जसमा विश्व पौडेल र विजयनाथ भट्टराई थिए। तर, वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समिति छाडेका थिए। जसले गर्दा गभर्नर नियुक्ति प्रक्रिया रोकिएको छ। चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नर विहीन छ।

सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, उनको राजीनामा समेत स्वीकृत भएको छैन। सिफारीस समितिले पूर्णता पाएसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको छ।

राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले गत आइतबार नै कार्यान्वयन गर्न निर्देशन दिएका थिए।