
बैंकङ खबर/ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.नीलम ढुंगानालाई डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएपनि स्वीकृत हुन सकेको छैन ।
ढुंगानाले अर्थमन्त्रीको निर्देशनका बाबजुद गभर्नरका प्रत्याशीद्वय राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत नगरेकी हुन्।
दुईमध्ये भट्टलाई भावी गभर्नर बनाउन दुई प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ।
यहीबीचमा कार्यकारी निर्देशक रहेकै बेला भट्ट गभर्नर बन्न नसक्ने भन्दै सर्वोच्चमा परेको रिट विचाराधीन छ। गत आइतबार अर्थमन्त्री पौडेलले कामु गभर्नर ढुंगानालाई उनीहरुको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए।