
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त भएको लामो समय हुँदा पनि अझै नियुक्त हुन सकेको छैन । राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर रिक्त हुनु भन्दा एक महिनाअगावै नियुक्ति प्रक्रिया पूरा गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने प्रावधान छ । १७ औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २२ गते समाप्त भइसकेको छ ।
सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । उक्त समितिलाई बन्धक बनाएको भन्दै सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गभर्नर बनाउनका निम्ति डा.गुणाकर भट्टको नाम दिइसकेका छन् । गभर्नर बन्न अभिप्रायले उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पनि राजीनामा बुझाएका छन् । तर उक्त राजीनामा कामु गभर्नर निलम तिम्सिना ढुंगानाले स्वीकृत गरेकी छैनन् ।
आइतबार मात्रै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले कामु गभर्नर ढुंगानालाई डा.भट्टले दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिइ सकेका छन् । अर्कोतर्फ सत्ता साझेदार दलबीच डा.भट्टलाई गभर्नर बनाउने सहमती भएपनि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा दायर पूरक रिट निवेदनसहितको पेशी परेको छ । उक्त पेशी पाँचौ पटक पनि हेर्न नभ्याइनेमा राखिएको छ ।
डा.भट्ट जत्तिको विज्ञ पाउँदा पनि किन निकालिँदैछ विवादको बखेडा ?
लामो रस्साकस्सीपछि नै सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाएका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टलाई गभर्नर बनाउने सहमती भएको हो । गभर्नरका बलिया दाबेदार हुन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्ट । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सिँधा पहुँच भएका भट्ट कांग्रेसको भागमा गभर्नर परेसँगै गभर्नर बन्ने पक्का भएका हुन् । देउवाले भट्टको परिवारले लगाएको एउटा गुन तिर्नुपर्ने बताउँदै आएको र उक्त गुन तिर्न गुणाकरलाई एउटा नियुक्त दिनुपर्ने बताउँदै आएका थिए ।
भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका हुन् । भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् । भट्ट अर्थशास्त्र स्नातकोत्तरका गोल्ड मेडलिस्ट हुन् ।
नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा थियो ।
राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए ।
भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । उनले राष्ट्र बैंकमा नियमन, बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेको छन् ।
अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वभावका छन् । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका भट्टलाई गभर्नर पाउँदा देशको अर्थतन्त्र थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
उसो त गभर्नर बन्न नेपाली कांग्रेसनिकट मानिने राष्ट्र बैंकका सञ्चालक डा. रवीन्द्र पाण्डे, कार्यकारी निर्देशक डा. भट्ट, नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना लबिङमा थिए ।
एमालेनिकट मानिने राष्ट्र बैंक डेपुटी गभर्नर डा. निलम ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रकाशकुमार श्रेष्ठ, राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि गभर्नर बन्ने दौडमा थिए। यस्तै पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई पनि अघि बढाइएको थियो । प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर ढुंगानालाई गभर्नर बनाउने संकेत गरेका थिए । गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारले निलमलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ ।
सत्ता गठबन्धनमै खटपट हुने देखिएपछि प्रधानमन्त्री ओली कांग्रेसले सिफारिस गरेको राष्ट्र बैंककै विवादरहित क्याडरलाई गभर्नर बनाउन सहमत भएको स्रोतको दाबी छ ।
नेपाल राष्ट्र बैंकले तय गर्ने मौद्रिक नीतिका कारण मुलुकको अर्थतन्त्रको दिशा निर्धारण हुने भएकाले गभर्नर पद महत्त्वपूर्ण मानिन्छ। राष्ट्र बैंक सरकारको पनि आर्थिक सल्लाहकार हो।
गभर्नरले अर्थतन्त्रमा देखिएको सुस्ततालाई गति दिँदै वित्त नीति र मौद्रिक नीतिबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। अर्थतन्त्रमा आउने चुनौतीलाई नियन्त्रणमा राख्दै निजी क्षेत्रको मनोभावना बुझेर बजारको आवश्यकता अनुसार नीति लिनुपर्ने जिम्मेवारी राष्ट्र बैंकको हो।
यी विभिन्न विषयलाई सही ढंगले अघि बढाउन सक्ने अर्थतन्त्रका लागि अति संवेदनशील मानिएको नेपाल राष्ट्र बैंकको गभर्नर बैंकिङ तथा अर्थ क्षेत्रको ज्ञाता हुनुपर्छ। यसर्थ, डा.भट्ट अर्थशास्त्रका विज्ञ मानिन्छन् ।
गुणाकरलाई राष्ट्र बैंकको गभर्नर किन बनाउने ?
भट्ट राष्ट्र बैंकभित्रकै अनुभवी व्यक्ति हुन्। वर्षौंदेखि केन्द्रीय बैंकमा काम गरेको अनुभवले उनलाई यहाँको नीति, नियम र काम गर्ने तरिकाबारे राम्रो ज्ञान छ। गभर्नर जस्तो पदमा यो अनुभव निकै महत्त्वपूर्ण हुन्छ।
त्यस्तै, भट्टको छवि एकदमै स्वच्छ छ। उनी कुनै विवादमा तानिएका छैनन्। अहिलेको समयमा राष्ट्र बैंक जस्तो संस्थाको नेतृत्वमा निष्कलंक व्यक्ति हुनुले आम मानिसको विश्वास जित्न सजिलो हुन्छ। यदि भट्ट गभर्नर भए पैसाको चलखेलबाट नियुक्ति भएको भन्ने आरोप पनि लाग्दैन।
उनी अर्थशास्त्र र बैंकिङका ज्ञाता पनि हुन्। देशको अर्थतन्त्रमा आइरहेका समस्याहरूलाई राम्ररी बुझेर सही नीति बनाउन र कार्यान्वयन गर्न सक्ने क्षमता उनीसँग छ। अहिले नेपालको अर्थतन्त्रमा तरलताको अभाव, बढ्दो महँगी जस्ता धेरै चुनौती छन्। यी चुनौतीसँग जुध्न सक्ने व्यक्ति गभर्नरमा चाहिन्छ।
भट्ट गभर्नर भए राष्ट्र बैंकको नीतिमा निरन्तरता पनि आउँछ। उनी यही संस्थाको भएकाले यहाँका राम्रा कामहरूलाई निरन्तरता दिँदै आवश्यक सुधारहरू पनि गर्न सक्छन्। यदि राष्ट्र बैंकले राम्रो नीति बनाउन सक्यो भने देशमा रोजगारीका अवसरहरू बढ्छन् र युवाहरू विदेश पलायन हुने क्रम पनि रोकिन सक्छ। त्यसैले, डा.गुणाकर भट्ट जस्तो सक्षम र अनुभवी व्यक्ति राष्ट्र बैंकको गभर्नरका लागि एकदमै आवश्यक देखिन्छ।
उनको नियुक्तिले राष्ट्र बैंकको साख बढाउने र देशको अर्थतन्त्रलाई सही दिशा दिने अपेक्षा गर्न सकिन्छ। यसर्थ, गभर्नरमा डा.भट्ट जत्तिको विज्ञ पाउँदा पनि विवादको बखेडा झिक्नु आवश्यक छैन र देखिँदैन ।