
बैंकिङ खबर/पियोर इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले बिहीबार बिहान शेयर बाँडफाँड गरेको हो।
यस आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएका थिए । जसमध्ये १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ। जसमा १ लाख १९ हजार ५ सय २० जनाले मात्र शेयर पाएका छन् । उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुनेछ ।
कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीले गत फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन भएको हो ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।