
बैंकिङ खबर/चालु आवको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा सुधार देखिएको छ । गत आर्थिक वर्ष ०८०-८१ को चैत मसान्तसम्मको तुलनामा बैंकहरूको वितरणयोग्य मुनाफा बढेको छ ।
बैंकहरूले प्रकाशन गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष ०८०-८१ को तेस्रो त्रैमाससम्म यस्तो मुनाफा १० अर्ब २३ करोड रुपैयाँले ऋणात्मक थियो ।
त्रैमाससम्म राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, एनआईसी एसिया, कुमारी र हिमालयन बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । गत आर्थिक वर्ष ०८०-८१ को चैत मसान्तसम्म १० वटा वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा ऋणात्मक थियो । गत वर्षको चैत मसान्तसम्म वितरणयोग्य मुनाफा ऋणात्मक हुने हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य मुनाफा घाटा झन् बढेको छ ।
गत वर्ष वितरणयोग्य मुनाफा ऋणात्मक भएका सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि, नेपाल र लक्ष्मी सन्राइज बैंकले भने यो वर्षको तेस्रो त्रैमाससम्म सुधार गरेका छन् ।
समग्रमा वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । गत आर्थिक वर्ष ०८०-८१ को तेस्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षमा खराब कर्जा १.१८ प्रतिशत विन्दुले बढेको छ । आर्थिक वर्ष २०८०-८१ को चैतसम्म वाणिज्य बैंकको खराब कर्जा ३.६५ प्रतिशत थियो । तर, चालु वर्ष ०८१-८२ को चैत मसान्तसम्म खराब कर्जा बढेर ४.८३ प्रतिशत पुगेको छ ।
हिमालयन बैंक र कुमारी बैंकले प्राथमिक पुँजीकोष दबाबकै कारण लगानीकर्तालाई लाभांश बाँड्न सक्दैनन् । तेस्रो त्रैमाससम्म कुमारी बैंकको प्राथमिक पुँजीकोष सीमाभन्दा तल छ ।
यो बैंकको न्यूनतम पुँजीकोष अनुपात ७.३१ प्रतिशत छ । त्यस्तै, हिमालयन बैंकको प्राथमिक पुँजीकोष आठ प्रतिशत छ । राष्ट्र बैंकले जारी गरेको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार बैंकहरूको न्यूनतम पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनुपर्छ । त्यस्तै, २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पूरक पुँजी हुनुपर्छ ।
न्यूनतम पुँजीकोष अनुपात र क्यापिटल कन्जरभेसन बफर गरी बैंकहरूले प्राथमिक पुँजीकोष ११ प्रतिशत कायम कायम गर्नुपर्छ । कुमारीको प्राथमिक पुँजीकोष ११.८२ प्रतिशत छ । त्यस्तै, हिमालयनको १०.८४ प्रतिशत छ ।
