
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएका श्रेष्ठले फागुन १८ गते लागू हुने गरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामा करिब डेढ महिनादेखि राष्ट्र बैंक गभर्नर कार्यालयमा स्वीकृतिको पर्खाइमा रहेको थियो। तर, उनलाई वैशाख ५ गते (शुक्रबार) राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागबाट राजीनामा स्वीकृत नभएको पत्र पठाइएको छ।
विभागबाट उनलाई वैशाख १० गतेदेखि एक महिना बिदामा बस्नु भनेर पत्र पठाइएको हो। उनी जेठ १० गतेदेखि राष्ट्र बैंकको जागिरबाट अवकाश हुँदै छन्।
राष्ट्र बैंकले राजीनामा स्वीकृत नगरी हाजिरमा आउनु नपर्ने र अवकाशअघिको बिदामा बस्न भनेर पत्र पठाएको श्रेष्ठले जानकारी दिए। राजीनामा स्वीकृत नभएर अवकाशका लागि बिदामा बस्न भनेसँगै श्रेष्ठले अवकाशपछि पाउने सम्पूर्ण सेवा सुविधाको लाभ लिन पाउने भएका छन्। राष्ट्र बैंकको गभर्नर छनोट प्रक्रिया चलिरहँदा उनले राजीनामा दिएका थिए।