२०८२ बैशाख ७ गते

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको वित्तीय अवस्थाः कुनको कस्तो ?

बैंकिङ खबर/ हाल संचालमा रहेका वाणिज्य बैंकहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार बैंकहरुले नाफामा सुधार गरेका छन् ।

ग्लोबल आइएमई बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय रुपमा उल्लेख सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीका अधिकांश सूचक सकारात्मक लयमा लम्कि रहेको देखिएका हुन् ।

चालु आर्थिक वर्षको चैत महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३७.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १३ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका बैंकको उक्त आम्दाी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन मुनाफा ३४.४१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब ११ करोडमा पुगेको छ ।

यसअवधिमा बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ र कर्जा लगानी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ गरेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा र प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

नबिल बैंक

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड८० लाख नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँबाट बढेर २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा २०३२.८० प्रतिशतले वृद्धि भएको हो।

बैंकले गत वर्षको चैत मसान्तसम्म १३ करोड रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालू आवको यसै अवधिमा भने २ अर्ब ७८ करोड रुपैयाँबढी खुद नाफा गर्न सफल भएको छ।

बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) गत वर्ष करीब १ अर्ब ऋणात्मक रहेकोमा चालू आवमा १ अर्ब २७ करोड धनात्मक पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ।

त्यस्तै बैंकको सञ्चालन नाफा पनि ५८ करोडबाट बढेर एकैचोटी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज र कुल सञ्चालन आम्दानी भने सामान्य बढेर क्रमशः ७ करोड १० लाख रुपैयाँ र ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा चमक देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममको अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.८९ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

इम्पेयरमेन्ट चार्ट ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । यता, कम्पनीको संञ्चालक नाफा ४ अर्ब ९० करोडबाट बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ । चैत मसान्तसम्मको अवधिमा प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।

एनआइसी एशिया बैंक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा भने ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा र खुद ब्याज आम्दानी घट्दा बैैंकको नाफा प्रभावित भएको छ । बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.९२ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२.५५ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब ६० करोड रुपैयाँबढी खुद नाफा कमाएकोमा चालू आवमा बढेर ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस वर्ष बैंकको आय आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज समेत घटेका कारण नाफा बढ्न टेवा पुगेको हो।

गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि १ अर्बबढी रुपैयाँले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ।

बैंकको कुल सञ्चालन आम्दानी पनि गत वर्ष ६ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष ६३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर २७ करोड रुपैयाँमा झरेको छ।

बैंकको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहकोमा चालू आवमा बढेर ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ। यससँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ, रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा कायम भएको छ।

लक्ष्मी सनराइज बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा लक्ष्मी सनराइज बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकले नाफा १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.२४ प्रतिशतले बढी हो ।

गत आवमा बैंकको यस्तो नाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने घटेर ७ अर्ब ८९ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ थियो । त्यस्तै, चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ छ ।

२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने ४९.२९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैैंकको नाफा २ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९७ करोड २२ लाख ६६ हजार रुपैयाँबाट घटेर ७ अर्ब १० करोड ४४ लाख ५८ हजार रुपैयाँमा पुगेको छ ।

सञ्चालन नाफा समेत गिरावट देखिएको छ । बैंकको सञ्चालन नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा घटेर १ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । कुल सञ्चालन आम्दानी समेत ६ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । यता, बैंकको चुक्तापूँजी १५ अर्ब ६३ करोड र जगेडा कोष सञ्चिति ३७ अर्ब ४० करोड रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षका तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो यसरी चालू आवमा बैंकको खुद नाफा झण्डै ६ प्रतिशतले वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेकाले खुद नाफा बढ्न मद्दत पुगेको हो।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै साढे ६ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकको कुल सञ्चालन आम्दानी पनि ७ अर्ब २० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३ अर्ब २१ करोड रुपैयाँबाट बढेर साढे ३ अर्ब रुपैयाँ नाघेको छ।

यसँगै गत वर्ष ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष भने १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा भने २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३१ करोड रुपैयाँ र रिजर्भ कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चिति रहेको छ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी समेत वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी गत वर्ष १६ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ २३ पैसा पुगको छ।

सानिमा बैंक

सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुुसार गत वर्षको चैत मसान्तसम्मको अवधिको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा १४.८० प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत वर्ष तेस्रो त्रैमाससम्म १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा सो नाफा बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाघेको हो।

त्यस्तै यस वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब ६ करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन नाफा पनि सामान्य बढेर ६ अर्ब रुपैयाँ नाघेको छ। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने साढे ६ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १९ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २७ पैसाबाट बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा, बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) २ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण  प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो चालू आवमा बैंकको खुद नाफा सामान्य घटेको हो। बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको हो।

चालू आवमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ।

यद्यपि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। यता सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रुपैयाँ रहेको छ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनी सञ्चालन नाफा ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको वितरणयोग्य नाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख र खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४४ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्ममा बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । यता, बैंकको प्रतिशेयर आम्दानी ३४.६ रुपैयाँबाट घटेर २८.८६ रुपैयाँमा आएको छ । यसको प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ छ ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थियो। गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको हो।

यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो। गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालू आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालू आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आवमा साढे ६ अर्ब ऋणात्मक भएको छ।

हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ।

गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाघेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ।

यद्यपि बैंकको आम्दानी र सञ्चालन नाफा भने केही घटेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

त्यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक हुँदा प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी झने ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँबाट बढेर ६ अर्ब ६१करोड रुपैयाँ पुगेको छ । यता, कुल सञ्चालन आम्दानी ११ अर्ब ५९ करोड रुपैयाँमा रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस वर्ष चैत मसान्तसम्म ५० करोड रुपैयाँ खुद नाफा गरेको छ।

बैंकले गत वर्षको यसै अवधिसम्म भने १ अर्ब ९४ करोड रुपैयाँबढी खुद नाफा गरेको थियो चालू आवमा बैंकको खुद नाफा ७४ प्रतिशतले घटेको हो। यद्यपि बैंकको सञ्चालन नाफा गत वर्ष साढे ३ अर्ब रुपैयाँबढी रहेकोमा चालू आवमा बढेर ३ अर्ब ८१ करोड नाघेको छ।

यता बैंकको खुद ब्याज आम्दानी भने गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेकोेमा चालू आवमा घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब १० करोड रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ३६ करोड ऋणात्मक र रिजर्भमा २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ३३ अर्ब ५३ करोडबढी ऋण दिएको छ भने ३ खर्ब १ अर्ब १३ करोडबढी निक्षेप संकलन गरेको छ।

बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०८ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ भने वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ऋणात्मक रहेको छ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य सूचक भने सुधारउन्मुख नै देखिएका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.१७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफा२ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । साथै, कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।९ महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकले यस वर्षको चैत मसान्तसम्म २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो। गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा बैंकको खुद नाफा २२.५६ प्रतिशतले घटेको हो।

चालू आवमा बैंकको इम्पेयरमेन्ट चार्ज रकम बढेपछि खुद नाफामा समेत दबाब परेको हो। गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज साढे ८९ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ।

खुद नाफा घटेपनि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानी भने बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ र कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँबाट बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

यद्यपि यस वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ। बैंकको लाभांश क्षमता भने १ अर्ब ७३ करोड रुपैयाँबढी रहेको छ।

बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ र रिजर्भ कोषमा झण्डै पौने ११ अर्ब रुपैयाँ सञ्चिति रहेको छ।

खराब कर्जा ५.६५ प्रतिशत रहेको यस बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७८ पैसाबाट घटेर १५ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ६३ पैसा रहेको छ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेपनि अन्य सूचक भने मझबूद देखिएका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज अम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । समीक्षा  अवधिमा कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घट्दा नाफा समेत असर परेको हो । यसअवधिमा बैंकको संञ्चालन नाफा १ अर्ब ८६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोडमा पुगेको हो ।

कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रहेको छ भने जगेडा कोष सञ्चिति ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

यता, खराब कर्जा भने ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ ।