बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रतिस्पर्धी दुई जना बाहिरने सम्भावना उच्च रहेको छ । सरकारले यही साता नै निर्णय गरेमा दुई जना प्रतिस्पर्धी दौडबाट बाहिरिने छन् ।
मंगलबार सर्वोच्च अदालतले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ३ ‘ग’मा भएको व्यवस्था हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेपछि आइतबारसम्मका लागि दुई प्रतिस्पर्धी बाहिरै परेका हुन्।
दफा ३ को (ग)मा ६५ वर्षको उमेर हद नलाग्ने व्यवस्था गरिएको छ। तर मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै उमेर हद नलाग्ने व्यवस्था अहिले कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
यसले ६५ वर्षमाथिका गभर्नरको प्रतिस्पर्धीलाई प्रतिस्पर्धाबाट वञ्चित गरेको हो। सरकारले गभर्नर नियुक्त गर्नका लागि दुई दलहरुमा सहमति जुटाउने प्रयास गरिरहेको छ। सत्तामा रहेका दुई दल एमाले र कांग्रेसमध्ये कांग्रेसले पूर्वमुख्यसचिव राजेन्द्र कुमार क्षत्री र रविन्द्र पाण्डेलाई गभर्नर बनाउन जोडबल गरिरहेको छ । एमालेले भने नीलम ढुंगानालाई बनाउनुपर्ने जोडबल गरिरहेको छ।
यसैबीच आइतबारअगाडि नै गभर्नर नियुक्त गर्ने सहमति भएमा पूर्वसचिव राजेन्द्र कुमार क्षेत्री र राष्ट्र बैंककै सञ्चालक रविन्द्र पाण्डे बाहिरिनेछन्। यी दुवै प्रतिस्पर्धी ६५ वर्ष पार गरिसकेका आकांक्षी हुन्।
यसअगाडि अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ संशोधन गर्दै अर्थ मन्त्रालयसम्बद्ध १५ वटा संस्थाहरुको प्रमुख कार्यकारी नियुक्तिमा ६५ वर्षे उमेर हद हटाएर उमेर हद नलाग्ने व्यवस्था गरेको थियो।
गभर्नर नियुक्तिको समय पारेर मापदण्ड संशोधन गरेपछि पाण्डे र क्षत्रीलाई गभर्नरका लागि प्रमुख दाबेदार मानिएको थियो। तर उमेर हद हटाउने व्यवस्थाको विरुद्ध सर्वोच्चमा रिट परेको थियो।
मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अधिवक्ताहरू अभिमा उप्रेती र विशाल थापालगायतको रिट सुनुवाइपछि अन्तरिम आदेश जारी गर्दै कार्यान्वयन नगर्न आदेश दिएको छ भने आइतबारलाई पेसी तोकेको छ। यसअनुसार भोलि बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गरेमा पाण्डे र क्षत्री ‘आउट’ हुने देखिन्छ।