बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा छलफल भएको छ। बिहान ११ बजे सुरू भएर करिब ४५ मिनेट भएको भेटमा गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो। नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ओलीले नीलम ढुंगानालाई अगाडि सारिरहेका बेला देउवाले त्यसमा विमति जनाएका थिए। उनले आफूले दिने नामबाट नियुक्ति गर्नुपर्ने बताएका थिए।
नीलम हाल डेपुटी गभर्नरका हैसियतमा कायममुकायम गभर्नरका रूपमा काम गरिरहेकी छिन्। यसपटक महिलालाई राष्ट्र बैंकको नेतृत्व दिनुपर्छ भन्ने ओलीको प्रस्ताव थियो। तर, त्यसमा देउवा सहमत भएनन्।
केहीबेरको छलफलपछि देउवाको प्रस्तावमा ओली लचक भएको स्रोतले बताएको छ। कांग्रेस नेतृत्वले गुणाकर भट्ट, राजेन्द्रकुमार क्षत्री, ज्ञानेन्द्र ढुंगाना र रवीन्द्र पाण्डेमध्ये एक जनालाई अघि सार्ने गरी कुरा भइरहेको देउवानिकट नेताहरूको भनाइ छ।
गभर्नर पद चैत २५ गतेदेखि रिक्त छ। सत्ता गठबन्धनमा कुरा नमिल्दा गभर्नर सिफारिसका लागि अर्थमन्त्री नेतृत्वको समितिले पनि काम गर्न सकिरहेको छैन। कानुनतः पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्तिको व्यवस्था गरिसक्नुपर्ने व्यवस्था छ।




