बैंकिङ खबर/ केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकमा अझै गभर्नर नियुक्त हुन सकेको छैन । १७ औं गभर्नर महाप्रसाद अधिकारी विदाइ भएको झन्डै एक हप्ता पुगि सक्न लागेको छ ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार, गभर्नरले अवकाश लिनु एक महिनाअगावै गभर्नर सिफारिस समितिले सिफारिस गरेका तीनजना व्यक्तिमध्येबाट एकजना गभर्नर नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ ।
‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्नेछ’, ऐनमा उल्लेख छ । तर, सरकारले गभर्नर अझै अहिलेसम्म नियुक्त गर्न सकेको छैन ।
मन्त्रिपरिषद्ले गत चैत ११ मा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेन गरी अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य सम्मिलित समिति बनाएको छ । तर उक्त समितिले गभर्नर सिफारिस गर्नका लागि कुनै पहल गर्न सकेको छैन।
अर्थ मन्त्रालयले महाप्रसाद अधिकारीको अवकाशपछि वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नर बनाएको छ । तर, सिफारिस समितिले गभर्नर सिफारिस गर्न औपचारिक बैठक समेत राख्न सकेको छैन ।
प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुरा नमिल्दा गभर्नर नियुक्ति टुंगोमा नपुगेको नेताहरु बताउँछन्। यसबाहेक विभिन्न व्यापारिक समूहहरुले पनि सरकारलाई स्वार्थपूर्ति हुने किसिमका पात्रलाई गभर्नर बनाउन दबाब दिइरहेका छन्। सोही कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताइएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार समितिमा नयाँ गभर्नरका लागि ६ जनाको दौड जारी रहेको छ । दौडमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना रहेका छन् ।
नीलम ढुंगाना र क्षेत्री एमाले निकट मनिन्छन् । यसैगरी पाण्डे, श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना कांग्रेस निकट मानिन्छन्। मिश्र भने कतै नखुलेको स्रोतको दाबी छ । यता ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका हुन्। उनलाई गभर्नर बनाउन कांग्रेस संसद तथा उद्योगी विनोद चौधरी नै लागि परेका छन् ।
डा. पाण्डे र पूर्वमुख्यसचिव क्षेत्रीको उमेर ६५ वर्ष नाघेकाले उमेर हद हटाएको चर्चा अर्थ मन्त्रालयमा छ । उनीहरू दुईमध्ये एकजना गभर्नरको सम्भावना रहेको स्रोतले बताएको छ ।
क्षेत्री र ढुंगानाको सक्रियता अत्याधिक
गभर्नर नियुक्ती अन्तम चरणमा भइरहँदा राजेन्द्र किशोर क्षेत्री र ज्ञानेन्द्र ढुंगानाले अधिक सक्रियता बढाएका छन् । पूर्वमुख्यसचिव क्षेत्रीको उमेर ६५ वर्ष नाघेकाले उनलाई नै गभर्नर बनाउन उमेर हद हटाएको चर्चा अर्थ मन्त्रालयमा छ ।
पूर्वमुख्यसचिवको छोटो जिम्मेवारीबाट ५८ वर्षे उमेर हदका कारण २०७४ कात्तिक ६ गते अवकास पाएका क्षेत्री गभर्नरका बलियो दाबेदार हुन् । उनका लागि अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधन बाधक बनेको थियो । उक्त मापदण्डमा ६५ वर्ष नाघेको व्यक्ति पदाधिकारी वा सदस्य हुन नसक्ने व्यवस्था रहेको थियो । तर अर्थमन्त्रालयले उक्त मापदण्ड नै एकाएक परिवर्तन गरिसकेको छ ।
आरजु देउवा निकट मानिने क्षेत्रीलाई शक्तिशाली व्यापारिक घरानाको साथ रहेको बताइन्छ । मुख्यसचिवबाट अवकास भएपछि उनी व्यापारिक घरानामा परामर्शदाताको रुपमा काम गर्दै आएका थिए ।
क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्यर्राष्ट्रिय कानुन, कर, बीमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् ।
जलस्रोत तथा ऊर्जा नीति निर्माण, विद्युत् विधेयक र विद्युत् नियमन आयोगको विधेयकजस्ता कानुनी मस्यौदा निर्माण गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
साथै क्षेत्रीसँग अध्यापन, कानुन तथा अन्तर्राष्ट्रिय विषयवस्तु विज्ञ र नेपाल सरकारका लागि स्वतन्त्र विज्ञ तथा परामर्शदाताका रूपमा काम गरेको अनुभव छ ।
२०३९ सालमा शाखा अधिकृतका रूपमा निजामति सेवा प्रवेश गरेका क्षेत्री २०६९ सालमा सचिव बनेका थिए र २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी ५८ वर्षे उमेर हदका कारण सोही वर्षको कात्तिक ६ गते मुख्यसचिवबाट सेवानिवृत्त भएका थिए ।
काठमाडौंको लैनचौर घर भएका उनले उनले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने बेल्जियमको युनिभर्सिटी अफ ब्रुसेल्सबाट पनि कानुनमा स्नातकोत्तर गरेका छन् ।
क्षेत्रीले त्यसअघि नेपाल ल क्याम्पसबाट एलएलबी गरेका थिए भने नेदरल्यान्डसको इरास्मस युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय कानुनमा ग्र्याजुयट डिप्लोमा गरेका थिए । उनै क्षेत्री अहिले १८ औं गभर्नरका लागि अत्याधिक सक्रियता बढाएका छन् ।
यस्तै अर्का गभर्नरका आकांक्षी ज्ञानेन्द्र ढुंगानाले पनि अधिक सक्रियता बढाएका छन् । राष्ट्र बैंकको गभर्नर बन्नकै लागि ढुंगानाले नबिल बैंकको सीईओ पदबाट राजीनामा दिएका थिए । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् ।
ज्ञानेन्द्रका दाई गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओको रुपमा समेत काम गरे ।
नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।
डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चामा छ ।
राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् । उनले अहिले १८ औं गभर्नर बन्नका लागि सक्रियता बढाएका छन् ।




