April 8th, 2025

पूर्वगभर्नर महाप्रसादको सुन र डलर बढ्यो, घरजग्गा स्थिर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार पाँच वर्षमा अधिकारीको सम्पत्ति करिब ५९ लाख ४८ हजार रुपैयाँ बढेको छ । अधिकारीसँग कुल सम्पत्ति ३ करोड ६९ लाख रुपैयाँ बराबरको छ । त्यसबाहेक २८ हजार ६०८ अमेरिकी डलर रहेको छ । उनको सम्पत्तिमा सुनचाँदी र अमेरिकी डलर बढेको छ भने घरजग्गा स्थिर छ । पाँच वर्षअघि उनीसँग २ हजार ३०२ अमेरिकी डलर सम्पत्ति रहेकोमा अहिले २८ हजार ६०८ डलर पुगेको छ ।

उनको सम्पत्तिमा ९ लाख ८८ हजार रुपैयाँ सुन, चाँदी तथा नगद छ । पाँथ वर्षअघि यो मूल्य ५ लाख ३ हजार रुपैयाँ बराबरको थियो । सार्वजनिक विवरणअनुसार १ करोड ८९ लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड तथा सुरक्षणपत्रमा लगानी रहेको छ । १ करोड ८ लाख रुपैयाँ लागतको जग्गा तथा ३२ लाख रुपैयाँ लागतको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।