April 8th, 2025

वित्तीय ठगी, चोरी र अपराधबाट बचौंः राष्ट्र बैंक


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय ठगीका घटना बढ्न थालेपछि सर्वसाधारणलाई सचेत गराएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै वित्तीय ठगी, चोरी र अपराधबाट बच्न सयमै विचार पुर्याउन आग्रह गरेको हो ।

सस्तोमा मोबाइल पठाइदिन्छु, तपाइँलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता म्यासेज आयो वा त्यसलाई पत्याएर उसले भनेजस्तै आफ्ना गोप्य विवरण तथा नागरिकताजस्ता निजी कागजात दिनुभयो भने सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउने अवस्था आउने राष्ट्र बैंकले जनाएको छ।

त्यस्ता सन्देश प्राप्त भएमा सधैँ सतर्क र सोचविचार गरेर निर्णय लिनु अत्यन्त आवश्यक रहेको केन्द्रीय बैंकको सुझाव छ। ‘सित्तैमा केही पनि पाइँदैन र त्यस्ता सन्देशको पछाडि सधैँ कुनै कुनै दाउपेच लुकेको हुनेतर्फ ध्यान दिन जरुरी छ’, सूचनामा भनिएको छ।