बैंकिङ खबर/सोमबार नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउने आशा पनि टुंगिएको छ । आजपनि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न सकेन् । सत्तारुढ दल कांग्रेस र एमालेबीच सहमति हुन नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुसी निर्णय गर्न लागेकाले गभर्नर नियुक्तिमा ढिलाइ भएको अर्थ मन्त्रालय उच्च स्रोतले बताएको छ । कांग्रेसले पटकपटक गभर्नरको नाम दिए पनि ओली विश्वस्त हुन नसकेको स्रोतको दाबी छ ।
गभर्नर नियुक्ति नभएपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ। फागुन अन्तिम साता सरकारले नयाँ गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन्। समितिले गभर्नर नियुक्तिका बारेमा अझै बैठक बस्न सकेको छैन । समितिले सिफारिस गरेका तीनजनामध्ये एकजनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ।
५ वर्षे कार्यकाल पूरा गरेर गत शुक्रबार महाप्रसाद अधिकारी बिदा भएपछि सरकारले कसलाई गभर्नर नियुक्त गर्ला भन्ने चासो बढेपनि केही समय कार्यबाहकबाटै राष्ट्र बैंक चल्ने देखिएको छ । सोमबारै मन्त्रिपरिषद्को बैठक बसेपनि गभर्नर नियुक्तिको एजेण्डा छैन ।
ओली बैंकक जानुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिका लागि दबाब दिएका थिए । तर, ओलीले फर्केर आएपछि निर्णय गरौंला भन्दै टारेका थिए । त्यो बेला पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षत्री विवादको घेरामा परेपछि देउवाले रविन्द्र पाण्डेको नाम लिएका थिएका थिए ।
अहिलेसम्म समितिको बैठक नबसेको र सोमबारको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको एजेण्डा नरहेका कारण राष्ट्र बैंकले नयाँ नेतृत्व पाउन केही समय कुर्नुपर्ने देखिएको छ । समितिका सदस्य विश्व पौडेल केही दिन देश बाहिर हुनेछन्। उनी नफर्किउन्जेल समितिको बैठक बस्ने छैन। त्यसो हुँदा उम्मेदवारको लबिङ लामै समयसम्म जाने देखिएको छ।
यसअघि आइतबार साँझ प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेट भएको थियो। त्यो भेटमा गभर्नर नियुक्तिका विषयमै लामै छलफल भएको बताइएको छ । स्रोतका अनुसार ओली र देउवाबीच गभर्नर नियुक्तिमा छलफल भएपनि एकमत हुन सकेको छैन ।