बैंकिङ खबर/ शीर्ष सहमती बिना नै गभर्नर नियुक्ति नहुने भएको छ । गभर्नर नियुक्तिका लागि एमाले र नेपाली कांग्रेसबीच अझै भागवण्डा मिलेको छैन ।
अर्थ मन्त्रालय स्रोतका अनुसार समितिमा नयाँ गभर्नरका लागि ६ जनाको दौड जारी रहेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना रहेका छन् ।
नीलम ढुंगाना र क्षेत्री एमाले निकट मनिन्छन् । यसैगरी पाण्डे, श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना कांग्रेस निकट मानिन्छन्। मिश्र भने कतै नखुलेको स्रोतको दाबी छ ।
यता ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका हुन्। उनलाई गभर्नर बनाउन कांग्रेस संसद तथा उद्योगी विनोद चौधरी नै लागि परेका छन् ।
डा.पाण्डे र पूर्वमुख्यसचिव क्षेत्रीको उमेर ६५ वर्ष नाघेकाले उमेर हद हटाएको चर्चा अर्थ मन्त्रालयमा छ । यी बाहेक अन्य गभर्नरका आकांक्षी भने सम्भावना कम देखेपछि भेटघाट र सोर्स लगाउन छोडेका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाउन चाहेका छन्। कांग्रेसले गभर्नर आफ्नै सिफारिसमा गभर्नर बनून् भन्ने चाहेपनि त्यो पूरा हुने देखिएको छैन । त्यसअनुसार कांग्रेसले पटक–पटक अनौपचारिक सिफारिसमा प्रधानमन्त्री ओलीलाई नाम पनि दिइसक्यो। तर, कांग्रेसको नाममा प्रधानमन्त्री कन्भिन्स देखिएनन्। उनले प्रक्रियालाई जटिल र लामो बनाउँदै आफ्नो पार्टीनिकट नै आकांक्षी खोजिरहेका छन् ।
केही दिनयता प्रधानमन्त्री ओली नेपालको भावी गभर्नर महिला ल्याउन लागेको सन्देश दिँदै हिँडेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गभर्नरमा महिला ल्याउने प्रस्ट सन्देश छन् । यसको सीधा अर्थ हालकी डेपुटी गभर्नर डा. निलम ढुंगानालाई ल्याउन उनले जोडबल गरेका छन् ।
अर्थ मन्त्रालयले पनि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । यसअघि पनि ओलीले एक मन्त्रीसँग नीलमलाई किन गभर्नर नबनाउने भनेर प्रश्न समेत गरेका थिए ।
सिफारिस समिति नाम मात्रैको
गभर्नर अधिकारीको कार्यकाल सकिन लागेपछि गत फागुन अन्तिम साता सरकारले नयाँ व्यक्ति छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य रहेका छन्।
उक्त समितिले सिफारिस गरेका तीन जनामध्ये एकलाई सरकारले गभर्नर बनाउने छ। तर समितिले अझै पनि छलफल नै गर्न सकेको छैन ।
आजैको मन्त्रिपरिषद् बैठकलाई नियुक्त गर्नुपर्ने दबाब चौतर्फी छ तर मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री सचिवालयले बोलाइसक्दा पनि गभर्नर सिफारिस समितिको बैठक भने नबोलाइएको समितिका एक सदस्यले बताए ।
‘अहिलेसम्म बैठक बोलाइएको छैन तर साँझसम्म के हुन्छ थाहा भएन, सिफारिस समितिको एउटा पनि बैठक नबसेको हुँदा भावी गभर्नर सिफारिसबारे समितिमा छलफल हुने कुरै भएन,’ उनले भने ।
राष्ट्र बैंक ऐन, २०५८ ले वर्तमान गभर्नरको कार्यकाल समाप्त हुनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ। तर, चैत २२ गते नै पूर्वगभर्नर महाप्रसाद अधिकारी बिदा हुँदासम्म सरकारले केन्द्रीय बैंकको नेतृत्वमा कसलाई ल्याउने भन्ने विषय टुंग्याउन सकेको छैन। प्रधानमन्त्री ओलीले भने आफूअनुकूलको गभर्नर नियुक्तिका लागि प्रकृयामै ढिलाइ गरिरहेको आरोप चौतर्फी छ।




