March 31st, 2025

बैंकवित्तबाट हुने शंकास्पद कारोबार बढ्दो

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामार्फत् हुने शंकास्पद कारोबार बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदनमा विगत ५ वर्षमा यस्तो वृद्धि बढ्दो क्रममा रहेको देखिएको हो ।

सन् २०१९/२० मा थ्रेसहोल्ड (१० लाख) माथि २४ लाख ८५ हजार ३६१ वटा कारोबार भएकोमा १०९० वटा शंकास्पद कारोबारका रिपोर्टिङ भएका थिए । सन् २०२० मा १९ लाख ९९ हजार कारोबारमध्ये १ हजार ५३३ वटा कारोबार भएका थिए ।

सन् २०२१ २२ मा २४ लाख १ हजार ७१४ वटा कारोबार भएको थियो । त्यसमध्ये शंकास्पद कारोबारको संख्या २ हजार ७८० रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०२२ २३ मा १६ लाख ९८ हजार ३९८ वटा कारोबारमध्ये ५ हजार ९३५ वटा कारोबार शंकास्पद रहेको देखिएको छ । गत आर्थिक वर्षमा १६ लाख ९७ हजार ७१२ रहँदा शंकास्पद कारोबारको संख्या ७ हजार ३३८ पुगेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकलाई प्राप्त भएका शंकास्पद कारोबारको सूचीमध्ये सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ३ हजार ४१७ वटा, करसम्बन्धी २ हजार ४९८ वटा, मुद्रा, बैंकिङ, विदेशी विनिमय, बीमा, सहकारीसँग सम्बन्धित २ हजार १७, ठगीसम्बन्धी ९२७, फर्म, साझेदारी, कम्पनीसँग सम्बन्धित ६८१ वटा कारोबार रहेका छन् ।

त्यस्तै, चिट्टा वा सट्टेबाजीसँग सम्बन्धित ४२८ वटा, व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण ७० वटा, भ्रष्टाचार तथा घुससँग सम्बन्धित रिपोर्टिङ ५४ वटा, जालसाजीसँग सम्बन्धित ४४ वटा उजुरी परेका छन् ।

ढुवानी, शिक्षा, स्वास्थ्य, औषधी तथा वैदेशिक रोजगारसम्बद्ध ४०, व्यक्तिगत तथा संगठित रूपमा भएका मानव तस्करीसम्बन्धी २७, लागुऔषधसँग सम्बन्धित २७, नागरिकता, अध्यागमन र राहदानीसँग सम्बन्धित १९, नक्कली मुद्रामा १४, संगठित अपराध तथा ठगीमा १४, घरजग्गा तथा सम्पत्तिसँग सम्बन्धित १४, इन्साइडर ट्रेडिङसम्बन्धी ९, चोरीसँग सम्बन्धित ९ वटा रिपोर्टिङ भएका छन् ।

कपिराइटसँग सम्बन्धित ६ वटा, वयस्क तथा बालबालिकामाथि हुने यौन दुव्र्यवहारसँग सम्बन्धित ४, कालोबजारी, उपभोक्ता संरक्षण, प्रतिस्पर्धा र आपूर्तिसँग सम्बन्धित ४, हप्ता असुलीसँग सम्बन्धित ३, लागुऔषध ओसारपसारसँग सम्बन्धित ३ वटा, सञ्चार, प्रसारण तथा विज्ञापनसम्बन्धी २, चुनावसँग सम्बन्धित २, अपहरण, अवैध नियन्त्रणसँग सम्बन्धित २, आतंकवादसँग सम्बन्धित १ वटा, चोरी र अन्य सामानको ओसारपसार १ वटा रिपोर्टिङ प्राप्त भएको रिपोर्टमा उल्लेख गरिएको छ ।