बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन हप्ता दिन मात्रै बाँकी छ । नयाँ गभर्नरका लागि आकांक्षीहरुको अन्तिम दौडधुप पनि चलिरहेको छ । शीर्ष तहमा सहमति जुटेपछि अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिले गभर्नरका उम्मेदवारहरुमध्ये तीन जनाको नाम सिफारिस गर्नेछ । सो सिफारिसको आधारमा सरकारले गभर्नर पदमा नियुक्तिको निर्णय गर्नेछ ।
यता गभर्नर नियुक्तिमा भागवण्डा नमिल्दा नेकपा एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएको छ । बिहीबार सत्तारूढ दलका नेताहरूको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकमा गभर्नर नियुक्तिका विषयमा विवाद उत्पन्न भएको हो ।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सम्मिलित बैठकमा एमालेले गभर्नर छोड्न नचाहेपछि कांग्रेसको टोली असन्तुष्ट भएको हो ।
एमालेले अर्थ मन्त्रालय आफूहरूको भएका कारण गभर्नर आफूहरूलाई नै चाहिने अडान राखेको छ । कांग्रेसको टोलीले पनि नेपाल ग्रे लिस्टमा परेकाले र अर्थतन्त्र सुस्त भएकाले अहिले देशको अर्थतन्त्र सम्हाल्नसक्ने गभर्नर चाहिने र त्यसका लागि कांग्रेसको प्राथमिकतामा परेको व्यक्ति निर्विकल्प भएको जिकिर गरेको छ । नेपाल दोस्रो पटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी ग्रे लिस्टमा परेपछि कांग्रेसले यसलाई निकाल्न पार्टीगत भन्दा पनि मुलुकको अर्थतन्त्र जोगाउने व्यक्ति गभर्नर बन्नुपर्ने अडान राखेको बताइएको छ ।
एमालेले भने गभर्नर नछाड्ने तर निकट भविष्यमै खाली हुने संवैधानिकलगायत अन्य राजनीतिक पदहरूमा खाली मिलान गर्न कांग्रेस वृत्तलाई आग्रह गरेको स्रोतको भनाइ छ । एमालेले अर्थ मन्त्रालय आफूहरूको भएका कारण गभर्नर आफ्नै दलको हुनुपर्ने अडान राखेपछि कांग्रेसले ऊर्जा मन्त्रालय आफूहरूको हुँदा पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एमालेलाई दिएको बताएको छ । कांग्रेसको मन्त्रालय रहेका विभिन्न निकायमा पनि एमालेलाई नै चाहिने र एमालेको भागमा रहेको मन्त्रालय पनि एमालेलाई नै चाहिने भन्दै कांग्रेसको ठूलो वृत्त गठबन्धनप्रति रुष्ट भएको छ ।
बैठकपछि कांग्रेस सभापति देउवा पनि एमालेसँग रुष्ट भएको बुझिएको छ । एमालेले गभर्नरको सट्टामा निर्वाचन आयोग वा त्यस्तै अन्य कुनैमा पद बाँडफाँट गर्न सकिने आश्वासन दिएको थियो तर कांग्रेसले सहमति दिएन ।
बिहीबारको कांग्रेस र एमालेको बैठकमा गभर्नरको विषयमा सहमति नभएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर किन नबनाउने भनेर आफ्नै दल नेकपा एमालेका मन्त्रीलाई सोधेका छन् । स्वयं प्रधानमन्त्री (केपी शर्मा ओली)ले नै नीलम ढुंगानालाई गभर्नर किन नबनाउने भनेर साधेका एक मन्त्रीले बताएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर आफूनिकट व्यक्तिलाई बनाउन सरकारमै रहेका दुई ठूला दलहरू लागिरहेका छन्। दलहरूको आडमा अहिले गभर्नर बन्न राष्ट्र बैंककै क्याडरदेखि निजी क्षेत्रका व्यक्तिहरू पनि दौडमा होमिएका छन्।
यसबीचमा प्रधानमन्त्रीले नीलमको नाम लिनुलाई पनि अर्थपूर्णरूपमा साथ हेरिएको छ। गभर्नरका प्रमुख दाबेदारमा डेपुटी गभर्नरहरू नीलम ढुंगाना र बमबहादुर मिश्र छन्। यस्तै, राष्ट्र बैंकबाट कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएरै प्रतिस्पर्धाको तयारीमा रहेका राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश श्रेष्ठ, राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्ट पनि लागिपरेका छन्।
यता नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर ज्ञानेन्द्र ढुंगाना पनि गभर्नर बन्ने दौडमा लागेका छन्।