बैंकिङ खबर/ विदेशमा रहेका व्यक्तिले त्यहाँ आर्जन गरी स्वदेशमा रहेका आफ्ना परिवार वा नातागोता वा अरु कसैलाई पठाएकोरकमलाई विप्रेषण अर्थात् रेमिट्यान्स भनिन्छ । यस्तोरकमलाई बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सी (रेमिट्यान्स कम्पनी) मार्फत रकमान्तर गर्न (पठाउन/प्राप्त गर्न) सकिन्छ ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिले आफ्नो कमाइलाई बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीमार्फत औपचारिक र कानुनी माध्यमबाट स्वदेश पठाउनु पर्दछ । यस्ता माध्यमबाट रेमिट्यान्स पठाउँदा बढी सुरक्षित र भरपर्दो हुने हुँदा केही सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।
यस्तो शुल्क बचत गर्ने लोभमा परी अनौपचारिक वा गैरकानुनी माध्यमबाट पैसा पठाउन हुँदैन । विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत पठाउने (हुण्डी) कार्य गैर–कानुनी तथा दण्डनीय अपराध हो ।
यसबाट मुलुकलाई ठूलो घाटा हुने मात्र नभई पठाएको पैसा डुब्न सक्ने, सम्पत्तिको स्रोत नखुल्ने, दाबी गर्नको लागि कुनै लिखित प्रमाण नरहने र गैर–कानुनी कारोबार भएकोले हुण्डी कारोबारमा संलग्न दुबै पक्ष सम्पत्ति शुद्धीकरणसम्बन्धी कारवाहीको भागीदार हुन सक्दछन् ।
औपचारिक संस्थाबाट विप्रेषण कारोबार गर्दा हुने फाइदा
» औपचारिक माध्यमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो,
उसैले सुरक्षित रुपमा पैसा प्राप्त गर्दछ ।
» यी माध्यमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ ।
» बैंक-वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थाबाट अन्य सुविधा पनि लिन सकिन्छ । जस्तैः विप्रेषण आयबाट खोलिएको बचत खातामा कम्तीमा १ प्रतिशत थप ब्याज पाउन सकिन्छ ।
» बैंक-वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको भौचर-रसिद पाइन्छ । यस्तो भौचर सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ ।
» यस्तो भौचरले कानुनी रुपमा आय प्राप्त गरेको प्रमाणको काम पनि गर्दछ । सम्पत्ति, घरजग्गा आदि जोड्दा आयस्रोतको रुपमा देखाउन सकिन्छ ।
» वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन र राज्यबाट प्राप्त हुने अन्य विविध सुविधा लिन पनि औपचारिक माध्यमबाट विप्रेषण कारोबार गरेको हुनुपर्छ ।
विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
» बैंक तथा रेमिट्यान्स कम्पनीहरुबाट मात्र विप्रेषण पठाउने ।
» विप्रेषण गर्दा शुल्क बापत लिइने पैसाबारे सोधपुछ गर्ने ।
» विप्रेषण प्राप्त भएपछि सो रकम आफ्ना आवश्यकतामा खर्च गर्ने, बचत गर्ने, सम्पत्ति सृजना गर्ने र अन्य उत्पादनशील क्षेत्रमा खर्च गर्ने ।
» विदेशमा दुःख गरी कमाएको रकम अनावश्यक विलासिताका सामान, भोज भतेर, मादकपदार्थ, जुवा तासजस्ता कार्यमा खर्च नगर्ने ।




