बैंकिङ खबर/ विगत लामो समयदेखि बैंकहरुप्रति अफवाह फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका दुर्गा प्रसाईंको उक्साहटका कारण फेरि देशले अर्बौको क्षति व्यहोर्नु परेको छ । शुक्रबार भएको राजावादीको नाममा भएको हिंसात्मक गतिविधिको नेतृत्व उनै दुर्गा प्रसाईंले गरेका थिए ।
काठमाडौं तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको थियो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरे । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ प्रसाईंको गाडीले नै प्रहरीको घेरा तोड्दै अगाडि बढेको थियो ।
अर्थतन्त्रमा अर्बौंको क्षति
राजावादीको नाममा भएको हिंसात्मक गतिविधिको निसानामा निजी सम्पत्ति र व्यवसायहरू परेका छन् । दुई जनाले ज्यान गुमाउनुका साथै सात जना घाइते भएका छन् । हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गर्नुका सार्थै भाटभटेनी सुपर स्टोरमा लुटपाट समेत गरेका छन् । हिंस्रक समूहको आक्रमणबाट करोडौं रुपैयाँको क्षति भएको सरकारी अधिकारीहरूको अनुमान छ ।
त्यतिमात्र होइन, अन्नपूर्ण पोस्ट तथा कान्तिपुर टेलिभिजन जस्ता निजी सञ्चारमाध्यममा पनि तोडफोड लगत्तै आगजनी प्रयास भएका छन् । हिंसात्मक समूहले सबैभन्दा पहिलो तीनकुनेमा रहेको मार्बल हाउसमा तोडफोडबाट आफ्नो अराजक गतिविधि सुरु गरेका थिए ।
उनीहरूले त्यो भवनमा आगजनी मात्रै गरेनन्, तीनकुने क्षेत्रका अन्य भवनमा पनि अन्धाधुन्द तोडफोड गरे । आगजनी भएको घरसँगैको अर्को घरका धरधनी नयन पण्डितका अनुसार उनको घरको बाहिरी भाग आन्दोलनकारीको ढुंगा प्रहारबाट पूर्णरूपमा ध्वस्त भएको छ ।
शुक्रबार साँझसम्म विध्वंशकारी राजावादी समूहले तीनकुने, कोटेश्वर, बालकुमारी, नरेफाँट लगायत क्षेत्रमा सयौं सवारीसाधनमा आगजनी गरेका छन् । त्यस्तै जडीबुटीस्थित सरकारी उद्योग जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा समेत आगजनी गरी ध्वस्त बनाएका छन् । लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने अधिकार कसैलाई नभएको नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् ।
राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकअनुसार देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) ५७ खर्ब रुपैयाँभन्दा माथि छ । यो आकारको अर्थतन्त्रमा एक दिन आन्दोलन वा बन्द गर्दा कम्तीमा ३ अर्बदेखि ४ अर्ब रुपैयाँको क्षति पुग्ने आँकलन छ । यसबाहेक, आन्दोलनकारीले कोटेश्वरको भाटभटेनीमा समेत आक्रमण गरेका छन् । साथै सो क्षेत्रका विभिन्न घरहरुमा आक्रमणको घटना बढिरहेको छ । यी सबै तोडफोड र आगजनी तथा सार्वजनिक यातायातको आवागमनको हिसाबकिताब जोड्दा राष्ट्रिय अर्थतन्त्रमा अर्बौ रकमको क्षति पुगेको छ ।

गृह मन्त्रालयले भन्योः आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेकाले सबै जिम्मेवारी उनैले लिनुपर्छ
सरकारले तीनकुने क्षेत्रमा राजावादीको नाममा भएको अराजक गतिविधिको जिम्मा दुर्गा प्रसाईंले लिनुपर्ने निष्कर्ष निकालेको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर तीनकुने क्षेत्रमा भएको भौतिक र मानवीय क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्ने बताएको हो ।
राजावादी मोर्चाको जनकमाण्डर बनेका प्रसाईंले प्रहरीले सुरक्षा घेरा आफ्नै गाडीले तोडेका थिए । उनले आन्दोलनकारीलाई उत्तेजक बनाउँदै अश्लिल गाली गरेको भिडियोहरु समेत सार्वजनिक भएको छ । आन्दोलनकारीले निजी घरहरुमा आगो लगाउने, तोडफोड, गाडीहरुमा तोडफोड भएको थियो । ‘राजा ल्याउने मिसन बोकेकाहरुले यस्तो गर्लान भन्ने भएन । आन्दोलनको नेतृत्व गरेकाले उहाँ नै यो घटनाको जिम्मेवारी लिनुपर्छ,’ गृह मन्त्रालयका सहसचिव छविलाल रिजालले भने, ‘जति क्षति भएको छ आयोजकको तर्फबाट उहाँहरुले लिनुपर्छ ।’
रिजालले त्यस्तो खालको घटना हुन सक्छ भन्ने पूर्वानुमान गर्न नसकिएको बताए । आगो नियन्त्रण गर्न गएको सशस्त्र प्रहरीको दमकलमा नै तोडफोड र आगजनी गरिएको थियो । ‘बन्दुक प्रयोग गर्दा मापदण्ड छन् । त्यसकारण हामीले अनुमान गरेभन्दा फरक भयो । अनुमान गरेभन्दा केही फरक र अराजक गतिविधि भएकै हो,’ उनले भने ।
विगतदेखि नै अराजक प्रसाईं
प्रसाईंलाई विगतदेखि नै अराजक व्यक्तिका रुपमा लिइन्छ । उनले विगतमा वित्तीय संस्थाविरूद्ध अभियान नै चलाएका थिए । ‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर गर्यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा छाएको थियो । उनले विगतदेखि बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साउँदै आएका थिए । साथै उनले नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकारी, ठूला व्यवसायी, बैंकर र प्रभावशाली व्यक्तिहरुलाई भारतका कुख्यात ग्याङस्टार लरेन्स बिश्नोईको नाम लिँदै प्रसाईं समूहले धम्की दिएको आरोप लागेको थियो ।
हिंसात्मक आन्दोलनपछि प्रसाईं भूमिगत
राजतन्त्रको पक्षमा शुक्रबार राजधानीमा हिंसात्मक आन्दोलन गरेका दुर्गा प्रसाईं भूमिगत भएका छन्। गृह मन्त्रालयले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए पनि पक्राउ परेका छैनन्। उनको लोकेसन पत्ता लगाउन नसकिएको प्रहरी स्रोत बताउँछ । सामाजिक सञ्जालमार्फत भने उनले प्रहरीलाई चुनौती दिँदै जहाँ बोलाए त्यहीँ आउने बताएका छन्। शुक्रबार प्रदर्शन अराजक बनाउन उनले नै प्रदर्शनकारीलाई उक्साएका थिए।




