बैंकिङ खबर/ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा नयाँ गभर्नर को बन्ला भन्ने अहिले चासोको विषयका रुपमा हेरिएको छ । अहिले गभर्नर बन्नका लागि आफ्नो पदबाट नै राजीनामा दिएर आकांक्षीहरु दौडधुपमा छन् ।
यसैबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट दुई दिनअघि राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउने दबाब बढेको छ । दबाब सँगै गभर्नर नियुक्ति प्रक्रियाले नयाँ मोड लिएको छ ।
कांग्रेस नेताहरू, विशेषगरी परराष्ट्रमन्त्री आरजु राणा देउवा, ढुंगानाको नाम अघि सार्न सक्रिय छिन् । ढुंगानालाई गभर्नर बनाउन अर्बपति व्यवसायी विनोद चौधरी र कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ पनि केही महिनादेखि लागिपरेका छन् । ढुंगाना स्वयं कांग्रेस सांसद सीता गुरुङलाई साथमा लिएर नेताहरू भेटिरहेका छन् ।
यद्यपि, कांग्रेस नेतृत्वले सुरुवाती चरणमा ढुंगानाको नाममा सकारात्मक प्रतिक्रिया दिएको थिएन । तर, पछिल्ला दिनमा शीर्ष नेताहरूको धारणा बदलिएको देखिएको छ । यही कारण उनले नबिल बैंकको सीईओ पदबाटै राजीनामा दिएर गभर्नर बन्न लागेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओली भने वाणिज्य बैंकका सीईओलाई गभर्नर नियुक्त गर्नु उपयुक्त नहुने पक्षमा छन् । उनले स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै अन्य विकल्पबारे सोच्न कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंकजस्तो नियामक निकायको गभर्नर नियुक्त गर्दा व्यवसायिक हितको द्वन्द्व नहोस् भन्नेमा प्रधानमन्त्री सचेत देखिन्छन् । नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टमा रहेको बेला वाणिज्य बैंकका सीईओलाई गभर्नर बनाउँदा अन्तर्राष्ट्रिय तहमा नकारात्मक सन्देश जान सक्ने उनको ठहर छ ।
को हुन् ढुंगाना
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । ज्ञानेन्द्रका दाई गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए ।
देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्दपछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगानाले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीइओका रुपमा काम गरे ।
नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन ।