March 26th, 2025

प्राधिकरणको सिइओसँग कांग्रेसले साट्यो गभर्नर पद

बैंकिङ खबर/ यतिबेला देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्रको गभर्नर को बन्ला ? भन्ने विषय चासोको रुपमा हेरिएको छ ।

गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भइसकेको छ । मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।
एक डेपुटी गभर्नरसहित राष्ट्र बैंक ऐनले तोकेबमोजिम योग्यता पुगेका थप दुई सम्भावितसहित तीन जना आकांक्षीहरूको नाम समितिले मन्त्रिपरिषदमा पठाउनुपर्नेछ ।

यता मन्त्रिपरिषद्को सोमबारको बैठकले दुई महत्वपूर्ण नियुक्तिको निर्णय लिएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुइँटेल नियुक्त गरेको छ ।

यी दुवै नियुक्ति एमालेनिकटले रहेका छन् । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् । यसअघि पनि ओलीले नै २०७७ सालमा उनलाई कार्यकारी निर्देशक बनाएका थिए ।

अहिले कांग्रेस मन्त्रीले नै सम्हालेको मन्त्रालयमातहत पर्ने र निकै ठूलो स्रोतसाधन भएको संस्थाको प्रमुख कार्यकारी पद एमालेको भागमा पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहि महिनाको अन्तिम साता नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुँदै छ । हालका गभर्नर महाप्रसाद अधिकारी चैत २५ बाट कार्यकाल सकेर बिदा हुँदै छन्।

सोमबार भएका दुवै नियुक्ति एमालेले पाउँदा अब गभर्नर कांग्रेसले पाउने आधार बन्दै गएको छ । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्।

त्यसैले पनि अब विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेले पाइसकेपछि गभर्नर कांग्रेसले पाउने आँकलन गरिएको छ । गभर्नरका लागि निजी बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृतदेखि राष्ट्र बैंकको कार्यकारी निर्देशकदेखि माथिल्ला तहबाट निवृत्त भएकाहरू गभर्नरको दौडधुपमा छन्।

अहिले कांग्रेस कोटाबाट विभिन्न व्यक्तिहरु गभर्नरका प्रतिस्पर्धि छन् । जसमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट १८ औं गभर्नरका सबैभन्दा बलिया दाबेदार छन् ।
तथापी उनले आफू गभर्नर नबनेर राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डेलाई समर्थन गर्ने मनसायमा देखिएको बुझिएको छ । यसो गर्दा यताको पद पनि जोगिने र राष्ट्र बैंकमा पनि बलियो उपस्थित हुने देखिन्छ ।

यही अवस्थामा नबिल बैंकमा सिईओ पदबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना पनि बलिया दाबेदार देखिन्छन् । उनलाई कांग्रेस सांसद विनोद चौधरीले अघि सारेका छन् । यस्तै गभर्नरका लागि बलिया उम्मेदवारहरूमा नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई पनि हेरिएको छ ।

यस्तो छ गभर्नर छनोटः विधि र प्रक्रिया

गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ ।

राष्ट्र बैंक ऐनमा त स्पष्टै सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख छ । तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने परम्परा बसेको छ ।

यस्तो छ ऐनमा

गभर्नरको नियुक्ति: (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (२) बमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम सिफारिस समितिको गठन गर्नेछ:–
(क) अर्थ मन्त्री – अध्यक्ष
(ख) पूर्व गभर्नरहरुमध्येबाट एकजना – सदस्य
(ग) आर्थिक, मौद्रिक,बैंकिङ , वित्तीय तथा वाणिज्य
कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट
नेपाल सरकारले तोकेको एकजना व्यक्ति – सदस्य

(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

(४) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।

आवश्यक योग्यता ?

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

गभर्नरको काम, कर्तव्य र अधिकार: (१) गभर्नरको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ:–

(क) समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने ।
(ख) बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
(गबैंकले गर्नु पर्ने कार्यहरु व्यवस्थित गर्ने ।
(घ) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने,
गराउने ।
(ङ) मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने,
गराउने ।
(च) वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको
ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने ।
(छ) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने
ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने ।
(ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने तरलता
सम्बन्धी नीति निर्माण गर्ने ।
(झ) वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले राख्नु पर्ने अनिवार्य
मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा सोको
प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने ।
(ञ) वाणिज्य बैंक तथा वित्तीय संस्थाको पू“जी कोषको पर्याप्तता
सम्बन्धी शर्त निर्धारण गर्ने ।
(ट) सुन तथा अन्य बहुमूल्य धातुको खरिद बिक्री गर्दा अपनाउनु पर्ने
प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने ।
(ठ) बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने ।
(ड) आवश्यकता अनुरुप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय
स्थापना र बन्द गर्ने निर्णय गर्ने ।
(ढ) बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने ।
(ण) बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक
व्यवस्था गर्ने ।
(त) वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण सम्बन्धमा
आवश्यक व्यवस्था मिलाउने ।
(थ) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द
गर्ने सम्बन्धमा निर्णय गर्ने ।
(द) सञ्चालक समितिद्वारा प्रत्यायोजित अधिकारको अधीनमा रही अन्य
विषयमा निर्णय गर्ने ।
(२)अन्तर्राष्ट्रिय मान्यता अनुरुप केन्द्रीय बैंकका गभर्नरले प्रयोग गर्नु पर्ने
अधिकार गभर्नरमा अन्तर्निहित हुनेछ ।