बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककाे १७औं गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिन केही दिन मात्रै बाँकी छ । उनको कार्यकाल यहि चैत २४ गते सकिन लागेको हो । नयाँ नियुक्ति प्रक्रिया अगाडि बढिरहेका बेला गभर्नर अधिकार भने चैत ५ गतेबाट ‘फोर्स लिभ’मा बसेका छन् । ‘फोर्स लिभ’ मा बसेका बेला उनले पुनः दोहोरिने मनाशय पनि लिएका थिए । आफ्नो कार्यकालको अन्तिम समयमा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेपनि निराश भएर फर्किए । केही अघि देखि नै उनले प्रधानमन्त्रीसँग समय मागिरहेका थिए । लामो प्रतीक्षा पश्चात् गत बुधबार बालुवाटारमा भटेर गभर्नरमा पुनः नियुक्तिको अपेक्षा पनि अघि सारे । तर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्र बैंकमा बसेर अर्थतन्त्र विगारेको’ भन्दै आलोचना गरे । त्यसकारण उनको पुनः गभर्नर बन्ने सम्भावना लगभग अन्त्य भएको छ ।
यसर्थ, अहिले नयाँ नेतृत्व सम्हाल्ने गरी १८औं गभर्नर को बन्ला भन्ने चासो र चर्चा चलिरहेको छ । आकांक्षीको दौडधुप पनि चलिरहेको छ । यता सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।
एक डेपुटी गभर्नरसहित राष्ट्र बैंक ऐनले तोकेबमोजिम योग्यता पुगेका थप दुई सम्भावितसहित तीन जना आकांक्षीहरूको नाम मन्त्रिपरिषदमा पठाउनुपर्ने जिम्मेवारी सिफारिस समितिको हुन्छ । यसैले गभर्नरका सम्भावित तीनपर्ने विभिन्न नामहरू यतिबेला चर्चामा छन्। अहिले नेकपा एमाले र कांग्रेस गठबन्धन सरकार भएकाले उनीहरूकै पकडका गभर्नर हुने पक्का छ । यस पटक गभर्नर कांग्रेसको भागमा पर्ने आँकलन गरिएको छ । राष्ट्र बैंक ऐनले गभर्नरका लागि हालका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्रलगायत दाबेदार देखिन्छन्।
यस्तै राष्ट्र बैंकका अर्थशास्त्रीद्वय डा.गुणाकर भट्ट र डा. प्रकाश श्रेष्ठलाई बलियो आकांक्षीको रुपमा हेरिएको छ । यस्तै राष्ट्र बैंकका सञ्चालकद्वय रविन्द्र पाण्डे र चिन्तामणी सिवाकोटी पनि आंकाक्षी छन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू प्रभु बैंकका अशोक शेरचन, नबिल बैंकका ज्ञानेन्द्रप्रसाद ढुंगाना, एनएमबि बैंकका सुनिल केसी र माछापुच्छ्रे बैंकका सन्तोष कोइराला पनि गभर्नर बन्ने दौडमा छन् । यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाल र लगानी बोर्डका पूर्वसीईओ सुशिल भट्ट पनि गभर्नरको आकांक्षी रहेको चर्चा छ ।
पाँच बलिया दावेदार र सम्भावित अनुहार
१.डा.नीलम ढुंगाना तिम्सिना
राष्ट्र बैंकको अठारौं गभर्नर बन्न एक दर्जनभन्दा बढी आकांक्षीहरूले लबिङ गरिरहँदा एक बलियो दावेदारको रुपमा हालकी डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनालाई हेरिएको छ । उनी यतिबेला गभर्नर नयाँ गभर्नर बन्ने दौडमा छिन् । ढुंगानाका पति विष्णुप्रसाद तिमल्सिना पनि एमाले निकट प्राध्यापक संघको राजनीति गर्छन् । नीलम स्वयं पनि एमाले नेतृत्वहरुसँग नजिक छिन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् । ढुंगानाले प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्य, पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको निवासमै पुगेर आफूलाई गभर्नर बनाउन लबिइङ गरिसकेकी छन् । प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा निकै उदार छन् ।
गभर्नर नियुक्तिको मुखैमा ओलीले एक कार्यक्रममा महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव आफ्नै पालामा बनाएको बताएका थिए । यो संकेतले पनि नयाँ गभर्नर महिला नै हुने हुन् कि भन्ने आँकलन गरिएको छ । झापामा जन्मिएकी नीलमले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि गरेकी छन् ।
यस्तै उनले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गरेकी छिन् । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताइन् । उनी पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गरिन् ।
मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उनलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्त गरेको थियो । उनी निलम गभर्नरको दाबेदारको रुपमा रहेकी छन् । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् ।
उनी भन्छिन्,‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।’ तसर्थ ढुंगानालाई आगामी गभर्नरका लागि निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।
२.सुशील भट्ट
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई १८ औं गभर्नरका बलिया दाबेदारका रुपमा हेरिएको छ । उनको सत्ता साझेदार दुई ठूला नेता शेरबहादुर देउवा र केपी ओलीसँग भट्टको सिधा पहुँच छ । राजनीतिकरुपमा कांग्रेस निकट भट्ट कांग्रेसभित्रै पनि सभापति देउवा निकट मानिन्छन् । यस्तै उनको एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग पनि त्यतिकै बलियो निकटता रहेको छ । ओलीले योजना आयोगको सदस्य बनाएका भट्टलाई ओलीले नै लगानी बोर्डको सीईओ बनाएका थिए ।
इन्फिनिटी होल्डिङसका प्राविधिक निर्देशकसमेत भएर काम गरिसकेका भट्टले योजना, लगानी र विकास वित्तको विज्ञका रुपमा आफ्नो पहिचान बनाएका छन् । इन्फिनिटीमार्फत् भट्टले पूर्वाधार परियोजनामा लगानी र विकाससम्बन्धमा परामर्श र व्यवस्थापन सेवाहरू प्रदान गर्दथे । नेपाल व्यवस्थापन संघका अध्यक्षसमेत भइसकेका उनी परियोजना व्यवस्थापन र परियोजनाको जीवन चक्रका जानकार हुन् ।
लगानी बोर्डमा रहँदा उनले करिब ३ अर्ब अमेरिकी डलरको निजी लगानी स्वीकृत गर्ने कार्यको नेतृत्व गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगमा भौतिक पूर्वाधार र यातायात र शहरी विकास क्षेत्र हेर्ने सदस्यका रुपमा काम गरे । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका भट्टले काठमाडौं विश्वविद्यालयबाटै व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।
योजना आयोगको राष्ट्रिय परियोजना बैंक र राष्ट्रिय परियोजना बैंक व्यवस्थापन सूचना प्रणाली विकास र कार्यान्वयनमा उनको संलग्नता छ । यसबाहेक प्रोक्युरमेन्ट, संघीय अनुदान तथा वित्तीय हस्तान्तरण सम्बन्धी मापदण्ड तथा निर्देशिका जारी गर्न, परियोजना विकास, अनुगमन तथा मूल्यांकन, बजेट लेखनमा पनि उनी सहभागी थिए । भट्ट पूर्वबैंकर पनि हुन् । उनले कुमारी बैंक र सिद्धार्थ बैंकमा विभागीय प्रमुखका रुपमा काम गरिसकेका छन् ।
३.डा.प्रकाशकुमार श्रेष्ठ
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठलाई पनि गभर्नरका बलियो दावेदारका रुपमा हेरिएको छ । उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत छन् । श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् । यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री विष्णु पौडेल नै अर्थमन्त्री थिए । पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् ।
प्रधानमन्त्री ओलीले नै नीलम र बमबहादुरलाई डेपुटी गभर्नर बनाउन अर्थमन्त्रीलाई निर्देशन दिएपछि पौडेलले चाहँदा चाहँदै पनि श्रेष्ठले मौका पाएनन् । प्रधानमन्त्री ओलीले श्रेष्ठलाई पछि हेरौंला भनेर बचन दिएकाले यसपटक एमालेको भागमा गभर्नर परेमा उनीलाई गभर्नरका सबैभन्दा शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ । श्रेष्ठलाई गभर्नर बनाउन एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालगायतका नेताहरु लबिइङमा छन् । राम्रो अर्थशास्त्रीको परिचय बनाएका श्रेष्ठलाई बलियो दाबेदारको रुपमा हेरिएको छ ।
श्रेष्ठले राष्ट्र बैंकमा लामो समय आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक भएर काम गरे भने लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख भएर पनि काम गरे । उनीसँग नेपाल धितोपत्र बोर्डको सञ्चालक बनेर काम गरेको अनुभव पनि छ ।
४.ज्ञानेन्द्र ढुंगाना
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुंगानाले सोमबार मात्रै बैंकको सीईओबाट राजीनामा दिइसकेका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । ज्ञानेन्द्रका दाई गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ हुन् ।
नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।
डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चामा छ । राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् ।
५.रवीन्द्र पाण्डे
कांग्रेसको कोटाबाट राष्ट्र बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका रवीन्द्र पाण्डे १८ औं गभर्नरका बलिया दाबेदार हुन् । उनी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । नुवाकोट स्थायी घर भएका पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशशरण महतसँग निकट पाण्डे पछिल्लो समय आरजु देउवासँग राम्रो सम्बन्ध रहेकाले कांग्रेसका भागमा गभर्नर परे गभर्नरको बलियो दाबेदार मानिन्छन् । ६० को दशकको अन्त्यतिर राष्ट्र बैंककको कार्यकारी निर्देशकबाट अवकाश भएका पाण्डे उमेरले ६५ वर्ष नाघिसकेका छन् ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान र सुपरिवेक्षण विभागको प्रमुख भएर काम गरेको उनले अवकाशपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएर पनि काम गरे । उनले ग्रामीण विकास लघुवित्त (साविकको ग्रामिण विकास बैंक) अध्यक्ष र नागरिक लगानी कोषको सञ्चालक पनि भएर काम गरे । पछिल्लो २२ महिनादेखि राष्ट्र बैंकको सञ्चालक रहेका पाण्डेसँग नेपाल धितोपत्र बोर्डको सञ्चालकको रुपमा पनि काम गरेको अनुभव छ ।