बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस प्रक्रिया सुरु भएसँगै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।
आइतबारदेखि लागू हुने गरी भन्दै सोमबार राजीनामा बुझाएका हुन् । नेपाल बंगलादेश बैंक गाभिएसँगै सिइओ भएका ढुंगाना गत १७ असारमा पुनः २ वर्षका लागि सिइओ नियुक्त भएका थिए ।
नेपाल बंगलादेश बैंकलाई नबिलमा गाभ्न महत्वपूर्ण भूमिका खेलेका ढुंगाना गर्भनरको दौडमा छन् । ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि नबिल बैंकमा अब सिइओ को बन्छ भन्ने चासो र चर्चा सुरु भएको छ ।
यद्यपि उनको राजीनामा स्वीकृत भइनसकेकाले सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको अवस्थामा नयाँ सिइओ नियुक्त गर्ने बाटो खुल्नेछ । हाल कार्यरतबाटै नयाँ सिइओ बनाउने सम्भावना बलियो छ । त्यसका लागि मुख्य दाबेदारका रूपमा डेपुटी सिइओद्वय सुजित शाक्य र मनोज ज्ञवाली छन् ।




