बैंकिङ खबर/सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा लुइँटेल सहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्ले लुइँटेललाई नियुक्त गरेको हो ।
नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले तीन साता छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।




