बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । यसको स्थापना वि.सं. २०१३ साल वैशाख १४ गते भएको हो । यसले मौद्रिक नीतिमार्फत देशभित्र मौद्रिक स्थायित्व वा मुद्रास्फीतिलाई लक्षित सीमामा राख्ने कार्य गर्दछ ।
त्यसै गरी आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि वाह्य क्षेत्रको स्थायित्व हुने गरी विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्दछ । देशको मौद्रिक आधिकारीका रुपमा यसले देशको मुद्राको छपाइ, वितरण लगायतका नेपाली मुद्राको सम्पूर्ण व्यवस्थापन गर्दछ भने नेपाली मुद्राको विदेशी मुद्रासँगको खरिद बिक्रीदरको निर्धारण गर्ने कार्य पनि गर्दछ ।
नेपाली वित्तीय प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय पनि भएकाले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कारोबारको इजाजत दिने, निरीक्षण तथा सुपरिवेक्षण गर्ने कार्य गर्दछ ।
यसले नेपाल सरकारको बैंक तथा बैंकहरुको बैंकका रुपमा भूमिका निर्वाह गर्दछ भने सर्वसाधारणबाट निक्षेप संकलन गर्दैन । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा पनि कार्य गर्दछ । नेपाल राष्ट्र बैंकको उद्देश्य लगायत बैंकको काम कारबाहीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्देश गरेको छ ।
नेपाल राष्ट्र बैंकको उद्देश्य
» आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
» वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,
» सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने ।
नेपाल राष्ट्र बैंकको काम, कर्तब्य र अधिकार
१) बैंक नोट तथा सिक्का निष्कासन गर्ने,
२) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
३) विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने, विनिमय दर पद्धति निर्धारण गर्ने, विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,
४) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
५) नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,
६) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,
७) भुक्तानी, फछ्र्याैट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवर्धन गरी सो कार्यलाई नियमित गर्ने,
८) तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने,




